६ दिन बित्यो, भेटिएनन् चन्द्रे

सुर्खेत: अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामीको अवस्था अझै अज्ञात छ । मुगुकी किशोरीसँग अन्तर्जातीय विवाह गरेका कामी ६ दिनदेखि बेपत्ता भएका हुन् । सोरु गाउँपालिका–४, लिब्रकी रमिला मल्ल (सुन्तली) सँग प्रेम विवाह गरेका चन्द्रेलाई केटी पक्षले २९ मंसिर राति घरबाटै उठाएर लगेका थिए । चन्द्रे हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका हुन ।

गत बुधवार मध्यरातमा केटीको गाउँ लिब्रबाट आएको समूहले छिमेकीहरूको घरमा ताला लगाएर छोरालाई कुट्दै लगेका चन्द्रेका बुवा धनञ्जय लोहार (कामी) ले बताएका छन् । सोही वडाका अध्यक्ष गोकुल बुढाका अनुुसार भोलिपल्ट घरभन्दा दुई÷तीन सय मिटरको दूरीमा चन्द्रेको टिसर्ट भेटिएको थियो । चन्द्रेसँग भागी विवाह गरेकी सुन्तलीचाहिँ उनकै घरमा भेटिएकी थिइन् । अहिले सुन्तलीसहित उनका बुवा वीरबहादुर मल्ल हुम्ला प्रहरीको नियन्त्रणमा छन् । मुगु प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई हुम्ला प्रहरीको जिम्मा लगाएको थियो ।

चन्द्रेको खोजीमा प्रहरीको विभिन्न टोली खटिएको जिल्ला प्रहरी कार्याल हुम्लाका प्रहरी सहायक निरीक्षक बर्मबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार प्रहरी चौकी गल्फागाढ र अस्थायी प्रहरी पोस्टबाट तुम्च एक÷एक टोली, जिल्ला प्रहरी कार्यालय प्रकाबाट दुई वटा टोली चन्द्रेको अवस्था पत्ता लगाउन सक्रिय छ ।
‘जिप्रकाबाट पहिला इन्स्पेक्टर दामु पुनको नेतृत्वमा पाँच जनाको टोली गएको थियो । त्यसपछि डीएसपीको कमाण्डमा आठ जनाको टोली मुगुमै पुगेर खोजबिन गरिरहेको छ । प्रहरी चौकी श्रीनगरबाट समेत एउटा टोली मुगुतिर गएको छ’, उनले भने ।

प्रकाशित मितिः   ६ पुष २०७८, मंगलवार ०९:५६