चिसो बढ्यो

सुर्खेत: कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा चिसो बढेको छ । आइतवारदेखि सुर्खेतमा पनि तापक्रम घटेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरकाअनुसार आइतवार सुर्खेतको तापक्रम दुई दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम भने २० दशमलव चार डिग्री सेल्सियस हाराहारी छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार सुर्खेतमा सन् २०१३ को जनवरी ९ तारिकमा शून्य दशमलव ७ डिग्रिसेल्सियस तापक्रम मापन भएको थियो । अहिले यहाँ मापन भएको न्यूनतम् तापक्रम केही वर्ष यताकै अधिक हो ।

त्यस्तै, जुम्लामा न्यूनतम् तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँ सन् १९९१ जनवरी ३ तारिकमा माइनस १३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । चिसो अझै केही दिन बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान कार्यालयले अपिल गरेको छ । यसैबीच, हिमाली क्षेत्रमा चिसो अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ । ती जिल्लाहरूमा पठनपाठनसमेत प्रभावित बनेको छ ।

मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका–३ मा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयमा चिसोको कारण आगो बालेर मात्र पठनपाठन गर्ने गरिएको छ । जिल्लाको एक मात्र आवासीय उक्त विद्यालयमा चिसोको कारण पठनपाठन प्रभावित भएको हो । चिसोले कक्षा कोठामा बस्न सक्ने अवस्था नभएपछि आगो बालेर पढ्ने गरिएको कक्षा ६ मा अध्ययनरत छात्रा पेमा लामाले बताइन् । चिसोका कारण धेरै विद्यार्थीमा रुघाखोकी र टाउको दुख्नेजस्ता समस्या देखा परेको उनी बताउँछिन् ।

विगतका वर्षहरूमा सबै हिमाली जिल्लामा झन्डै दुई महिना चिसो बिदा हुन्थ्यो । यसपटक कोरोना महामारीका कारण पठाइ प्रभावित भएको भन्दै कतिपय विद्यालयले बिदा गरेका छैनन् । कोरोना महामारीले लामो समय विद्यालय बन्द हुँदा पठनपाठन रोकिएकाले यसपटक नियमित कक्षा सञ्चालन गरिरहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयका शिक्षक कुशल शाहीले बताए । उनका अनुसार कोर्स नसकिने देखिएकाले चिसोमा पनि पठनपाठन नरोकिएको हो । वि.स.२०७६ मा स्थापना भएको यस विद्यालयमा हाल दुई सय ९४ जना विद्यार्थी पढ्छन् । आवासीय विद्यायमा कक्षा ४ देखि ७ सम्म पढाइ हुन्छ ।

प्रकाशित मितिः   ५ पुष २०७८, सोमबार ०५:०१