जिल्ला लिग सुरु

सुर्खेत: जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता सुरु भएको छ । लिगअन्तर्गत पहिलो चरण (नकआउट)को खेल बुधवारदेखि वीरेन्द्रनगरमा सुरु भएको हो ।

पहिलो दिन दुई वटा खेल सम्पन्न भएको छ । उद्घाटन खेलमा न्यू जेनेरेसन क्लब विजयी भएको छ । मेहेलकुना क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै न्यू जेनेरेसले विजयी सुरुवात गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकर पुगेको थियो । बुधवार नै भएको दोस्रो खेलमा शिरमोर क्लबले सिकारीताल क्लबलाई १–० गोलले पराजित गरेको छ । सिमोरका लागि खेलको १०औं मिनेटमा भुपेन्द्र शाहीले गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज (बिहीवार) पनि दुई वटा खेल हुने लिग संयोजक सुन्दर पोखरेलले जानकारी दिए । उनका अनुसार आज पहिलो खेलमा आदर्श युथ क्लब र सिर्जनशील युवा क्लब भिड्नेछन् भने दोस्रो खेलमा बौद्ध युथ क्लब र राइजिङ स्टरबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल दिउँसो १ र दोस्रो ३ बजे हुने पोखरेलले जानकारी दिए ।

१६ वटा टिम सहभागी नकआउट चरणको प्रतियोगिता मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । नकआउट चरणबाट छनोट भएका ६ र अघिल्लो पटकको लिगमा शीर्षस्थानमा पर्न सफल ६ टिमबीच लिग (दोस्रो चरण) सञ्चालन हुनेछन् । लिगको अघिल्लो संस्करण २०७४ मा भएको थियो । उक्त संस्करणमा एबीसी स्पोर्टस क्लबले उपाधि जितेको थियो । त्यसपछि भने कोरोना महामारीका कारण लिग सञ्चालन हुन सकेको थिएन । यसपटक रेलिगेसनसहितको लिग सञ्चालन गर्न लागिएको हो । आयोजक सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीकाअनुसार अघिल्लो लिगको अङ्क तालिकामा पहिलोदेखि छैठौं स्थानसम्म रहने टोलीले सोझै दोस्रो चरणमा प्रवेश पाउने छन् । बाँकी टोलीले पहिलो चरणमा हुने नकआउट खेलमा प्रतिष्पर्धा गर्ने र तीमध्ये पुछारमा रहने दुई टोलीले अर्को वर्ष फेरि नकआउट चरणबाटै प्रतिष्पर्धा गरी अघि बढ्नु पर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नीति अनुसार जिल्ला लिगमा पनि पुछारका दुई टोली रेलिगेसनमा पर्ने महासचिव कार्कीले जानकारी दिए । ‘अङ्क तालिकाको पुछारमा रहने दुई टोलीले अर्को वर्ष हुने प्रतियोगितामा फेरि प्रतिष्पर्धा लिग चरणबाटै प्रतिष्पर्धा गर्नुपर्नेछ’, उनले भने, ‘यसबाट क्लबहरूबीचमै स्वस्थ प्रतिष्पर्धाको भावना विकसित हुने अपेक्षा लिएका छौं ।’

प्रकाशित मितिः   २३ मंसिर २०७८, बिहीबार ०५:०१