प्रदेश गौरवको आयोजना शिलान्यास
अबको ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरि प्रदेशस्तरीय रंगशालाका संरचना बनाउन सुरू गरिएको छ ।
सुर्खेत: प्रदेशस्तरीय रंगशाला निर्माणको शिलान्यास भएको छ । सोमवार एक औपचारिक समारोहकाबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशाला निर्माण कार्यको थालनी गरेका हुन् । योसँगै कर्णाली सरकारको पहिलो प्रदेश गौरवको आयोजना कार्यान्वयनमा गएको छ । वीरेन्द्रनगरस्थित हाल रंगशाला रहेकै स्थानमा खेलकुदका संरचना निर्माण गर्न लागिएको छ । कर्णाली सरकारले गत असार १६ गते यो रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रूपमा निर्माण गर्ने निर्णय गरेको थियो । कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना गर्ने लक्ष्य सरकारले लिएको छ । उक्त प्रतियोगिता हुनुभन्दा पहिला नै खेलकुदका संरचना बनाउन लागिएको हो ।
शिलान्यास कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले संरचना बनाउने कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई अनुरोध गरे । तोकिएकै मितिमा गुणस्तरीय काम गर्नुपर्ने भन्दै उनले त्यसका लागि आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको जनाए । ‘हामीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेछ, त्यसअगावै पूर्वाधारहरू व्यवस्थित भइसक्नुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘निर्माणमा ढिलासुस्ती नगर्नुहोला ।’ सोही अवसरमा उनले राट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाएर विशेष कार्यक्रम ल्याउने समेत प्रतिबद्धता जनाए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एक अर्ब ५९ करोड ४७ लाख लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुनेछ । १० हजार दर्शक अट्ने क्षमताको रंगशालामा संरचनाहरू भुकम्प प्रतिरोधक बनाइनेछ । सञ्ज्यालले खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको अत्याधुनिक रंगशशाला बन्ने बताए । रंगशाला अबको ३० महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौंबीच कार्तिक अन्तिम साता सम्झौता भएको हो । आयोजना कार्यान्वयनका लागि प्रदेश सरकारले पहिलोपटक ग्लोबल टेण्डर आह्वान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छानिएको थियो । शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।
प्रकाशित मितिः २१ मंसिर २०७८, मंगलवार ०५:०२
साझा बिसौनी ।