पहिरो रोक्न परम्परागत विधि

सुर्खेत: पहिरोको जोखिम कम गर्न परम्परागत विधिको प्रयोग गरी प्रदर्शनी स्थल निर्माण गरिएको छ । वीरेन्द्रनगर–५ को मसलाघारीस्थित पहिरो रोकथामको उपायबारे सिकाउन प्रदर्शनी स्थल बनाइएको हो । पहिरोजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले परम्परागत स्रोत साधनको प्रयोग गरी प्रर्दशन गरिएको छ । उक्त प्रदर्शनीमा तीन वटा विधिको प्रयोग भएको जनाइएको छ । यूएसएआइडी, तयार नेपाल, वीरेन्द्रनगर नगर पालिका, वातावरण सुधार समाज र रामजानकी सामुदायिक वन उपभोक्ता समितिको साझेदारीमा प्रदर्शनी स्थल बनाइएको हो ।

पहिरो जोखिम क्षेत्रका नागरिकलाई सिकाइ तथा पहिरोजन्य जोखिम भएका ठाँउहरूमा यो विधि अनुसरण गराउन प्रदर्शनी स्थल बनाइएको हो । बाँस तथा खारको प्रयोग गरिएको बनाइएको स्थल करिब साढे एक रोपनी क्षेत्रफलमा छ । सहज रूपमा समुदायमा उपलब्ध सामग्रीको प्रयोगले पहिरोजन्य जोखिम घटाउन सकिने वातावरण सुधार समाजका परियोजना कार्यक्रम संयोजक चित्र दाहालले बताए । उनका अनुसार प्रर्दनी स्थलमा बाँसको पर्खाल, मान्द्रे बार र घाँस रोपन गरिएको छ । आपत्कालीन अवस्थामा समेत यी विधि बढी उपयोगी हुने उनको भनाइ छ । पहिरोजन्य जोखिम घटाउन गत कार्तिक १४ देखि प्रदर्शनी स्थल निर्माण थालिएको थियो । वातावरण सुधार समाजका अनुसार सो स्थल निर्माणको काम सम्पन्न भइसकेको छ ।

 

प्रकाशित मितिः   २१ मंसिर २०७८, मंगलवार ०५:०१