कुप्रथाले गाँजेको समाज

यस वर्ष ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्य गरौं’ नाराकासाथ महिला हिंसाविरुद्धको सोह्र दिने अभियान मनाइरहेको घडीमा हामी छौं । विगतमा छाउगोठ भत्काउने सरकारको निर्णयभन्दा अगाडि पनि सुदूरपश्चिम र कर्णालीमा थुप्रै छाउगोठहरू विभिन्न संघ–संस्था, सरकारी निकायहरूले भत्काए, नेपाल टेलिकमको पैसा नलाग्ने फोन नं. पनि उपलब्ध गराइए, सेमिनार तथा गोष्ठीमार्फत जनचेतना जगाउने कार्य पनि भए तर त्यसले कुनै असर पार्न सकेन । प्रहरी र प्रशासन लगाएर भत्काइएका ती गोठहरू समुदायका मानिसहरूले पुनःनिर्माण गरे । पुनः बस्न थालियो । यो घटना त हाम्रा सामु ताजा नै छ ।

छाउपडी नियमन गर्न हामीसँग कानुन छ तर कार्यन्वयन हुँदैन । गत वर्ष सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र एक हजार जति छाउगोठहरू भत्काउन सफल भएको कुरा विभिन्न खबरहरमा सुन्न र पढ्न पाइएको थियो । छाउ मान्ने घरपरिवारलाई राज्यबाट दिइने सेवा सुविधाहरूबाट पनि वञ्चित गर्ने भनिएको थियो । तर, जे भने पनि छाउगोठ जस्ताको त्यस्तैै छन् ।

सन् २०१२ यता छाउगोठमा मृत्यु भएको घटनाहरू हेरौंः

यसरी सरसरती हेर्दा अछाममा मात्र पाँच वटा घटना, जाजरकोटमा एउटा घटना, दैलेखमा दुई वटा घटना, एक घटना बाजुरा र डोटीमा एक घटना घटेको पाईन्छ । वास्तवमा छाउपडीलाई जे–जसरी सोचे पनि जे जसरी लिएपनि यसले मानव जीवनमा नकारात्मक प्रभाव त पारेकै रहेछ । यस घटनामा १४ वर्षदेखि ३५ वर्षसम्मका महिला र किशोरीहरू, त्यसैगरी कक्षा ९ पढ्ने विद्यार्थीदेखि २–३ जना बालबच्चाको आमाहरू र अविवाहित किशोरीहरूकोे कारुणीक मृत्यु भएको पाईन्छ ।

युरोप, अमेरिका, अष्ट्रेलिया र अन्य विकसित मुलुकहरूमा महिनावारी वा छाउ हुँदैनन् ? शारीरिक बनोट र प्राकृतिक नियमानुसार हरेक महिला निश्चित उमेरदेखि निश्चित उमेरसम्म महिनामा एक पटक महिनावारी हुने गर्दछन् । यो प्राकृतिक नियम हो । यो रोकेर पनि रोकिँदैन र रोक्न पनि शारीरिक विज्ञानका हिसाबले राम्रो हुँदैन । यसलाई यसरी घरदेखि टाढै राखेर, मिठो र राम्रो खान नदिएर समाधान हुँदैन बरु यसलाई सरसफाई गरेर र व्यवस्थापन गरेर यसलाई व्यवस्थित गर्नु राम्रो हुन्छ ।

अछामको कुरा गर्दा धेरै महिला, किशोरी र छोराछोरीका आमाहरूले अनाहकमा मृत्युवरण गर्नु परेको घटना देखियो । यसमानेमा उनीहरूले भन्ने गर्दछन्, ‘हाम्रा घरमा देउताको थान हुन्छ । यस्तो अवस्थामा महिलाहरू घरभित्र गए देउता रिसाउँछन । त्यसैले यसलाई हामीले घरदेखि टाढै राख्नु पर्दछ ।’ घरमा देउता त नेपालको अरु जिल्लामा पनि हुन्छन् होला । तर त्यहाँ छाउ भएकी महिलालाई पनि घरमा विशेष स्थान बनाएर, सुरक्षित ठाउँमा बस्ने व्यवस्था गरिएको हुन्छ । के काठमाडौं वा अन्य सहरमा पढ्न गएकी एक किशोरी वा महिला छाउ हुँदैनन् ? उनीहरूको त घरको ३–४ तलामाथि एउटामात्र कोठा भाडामा हुन्छ । छाउ भएको बेला के गर्ने ? यसको उत्तर चाहियो ।

यसरी शारीरिक प्रक्रियालाई धर्मसँग जोडेर सदियौंदेखि महिला हिंसा गरिराखिएको छ । तर यसलाई न कानुन न त विभिन्न अभियानले छुन सकेको छ । यो नै आजको विडम्बना हो ।

संयुक्त राष्ट्र संघको युएनडिपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०१९ अनुसार नेपालको स्थान विश्वमा दुई स्थान माथि बढेको तर सार्कमा ५औं र विश्वमा १४७औं स्थानमा छ भनेर किटान गरेको छ तर नेपालमा असमानताको खाडल धेरै नै छ भनेर भनेको छ । त्यस्तै शिक्षामा पनि पछाडी नै छ र यस्तै भइराखेमा आगामी पाँच वर्षमा अझ पछाडी पर्ने चेतावनी पनि दिएको छ । शिक्षाको विकासको कुरा गर्दा आज पनि हामी धेरै पछाडी नै छौं किन भने हामीसँग नेपाल सुहाउँदो पाठ्यक्रम छैन । कर्णालीमा के–के कुरा पढाउँदा यहाँको स्थानीय बस्तुहरूको बजारीकरण हुन्छ ? जस्तो ¥याफटिङ्ग कसरी गर्ने, भिर कसरी उक्लने, पर्यटन, हिमाली कृषि, जडिबुटी अध्ययन तथा प्रशोधन, खनिज प्रशोधन, भारतको आग्राको जस्तो ढुङ्गामा बुट्टा वा चित्र कुँद्ने शिक्षा आदि हुन सक्छन् । खोइ यी र यस्ता वस्तुलाई पाठ्यक्रममा राख्न सकेको ?

त्यसैले शिक्षालाई ‘लोकलाइजेशन’ सँगै ‘ग्लोवोलाइजेशन’ गर्दै चिनमा जस्तो, भियतनाममा जस्तो गरेर लान सके हामी पनि अरु देश जस्तो विकासको सिँडी चढ्न सक्ने थियौं । आज हामीले सबै वस्तुमा अरुको भरमा बस्नु पर्ने थिएन । शिक्षा भए विकास हुन्छ, विकास भए पैसा हुन्छ र पैसा भए देश धनी हुन्छ र अहिको जस्तो खाडी मुलुक र अन्यतिर हाम्रा युवाहरू कामको खोजिमा भौतारिनु पर्दैन ।

छाउपडी कुप्रथा पनि यस्तै कमजोर शिक्षा प्रणालीका कारण भएको हो । हामी एकपटक कल्पना गरौं कि यसरी किशोरीहरू, महिलाहरू किन आफ्नो अधिकार (घरमा बस्न पाउने अधिकार) पनि लिन सकिरहेका छैनन् ? यसको कारण पनि शिक्षा ‘ग्लोबोलाइज्ड’ हुन नसकेर हो भन्ने लाग्छ । किन भने यदि एउटा महिला वा किशोरीले अमेरिकाको वा अन्य विकसित मुलुकको विकास प्रणाली बुझेको भए उनीहरूले घरको कुसंस्कारलाई विरोध गर्न सक्ने थिए । होइन र ?

जे भए पनि आखिरमा छाउपडी कुप्रथा हटाउन गोठ भत्काएर वा बल प्रयोग गरेर यो कुप्रथा हट्दैन । यसलाई निर्मूल पार्नका लागि कानुन पनि ठीक ढंगले कार्यन्वयन हुनु पर्दछ भने छाउ भनेकै के हो ? भन्ने विषयमा जनचेतनामुलक कार्यक्रम लागू गर्न जरुरी छ । हरेक व्यक्तिलाई भित्र मनदेखि महशुस गराउनु पर्दछ ता कि यो छाउ भनेको त प्राकृतिक चक्र रहेछ, सबै महिलालाई हुँदो रहेछ र यो वैज्ञानिक हिसावले फोहोर वा नराम्रो चिज रहेनछ । यसलाई व्यवस्थित तरिकाले व्यवस्थापन गरे केही नहुँदो रहेछ भन्ने कुराको जानकारी गहिरो तरिकाले सिक्न सिकाउन जरुरी छ । त्यसैले मनदेखि हटाउँ । कुरीति र रुढीवादी परम्पराहरू खारेज गरौं ।

– मनवीर नेपाली

प्रकाशित मितिः   १९ मंसिर २०७८, आईतवार ०९:१५