सम्झनामा स्वरसम्राट

सृष्टिको रचना यसरी निर्माण भएको छ, जब कोही प्राणी यहाँ जन्मन्छ तब मृत्युको ओरालो दिनगिन्ती सुरु हुन्छ र अन्तिममा अनिवार्य मेटिन्छ । यो शाश्वत सत्यको ज्ञान हुँदाहुँदै पनि मृत्युलाई हामी कसैले सहजै स्वीकार्न सक्दैनौं, किन कि हाम्रो हृदयमा स्नेह छ, करुणा छ, भावना छ ।

प्रियजनको मृत्युमा भावविह्वल भएर तिनै माया, करुणा, भावना पग्लदै मन वेकाबु हुन्छ तब त रोदन र क्रन्दनमा मिसिएर अश्रुधाराले धैर्यताको बाँध फोडिदिन्छ । परिवारजन र आफन्तलाई मृत्युले घायल बनाउँछ । कतै–कतै सिङ्गो समाजलाई हल्लाउँछ । कहिलेकाहीँ त देशलाई नै मृत्युले शोकमा डुबाउँछ । मृत्युशोकमा देशै रोएको हृदयविदारक घटना पनि भोगिएको छ, जीवनकालमा ।

सम्झनामा हिजो जस्तै लाग्छ, तर तीन दसक अगाडिको कुरा हो । काम विशेषले दाङ जानु परेको थियो । होटल खोज्दै गर्दा अकस्मात आफ्नै गाउँ–ठाँउका र बाल्यकालका साथी हरिलाल खड्कासँग भेट भयो । दाङ जिल्लाको स्वास्थ्य क्षेत्र अन्तर्गतमा कार्यरत हितैषी मित्र खड्काको स्नेही भावलाई पटक्कै टार्न नसकि उनको भातभान्सा र ओछ्यानलाई साझा बनाउनु पर्‍यो । मंसिर महिनामा अहिले जस्तै जाडोको प्रभाव चढिरहेको थियो । त्यो दिन म कोठामा फर्की आउँदा हरिजी बाहिर घाम ताप्दै थिए ।

‘आज त समाचार सुन्ने अनुकूलै परेन हरिजी ।’

‘आज नारायण गोपालको मृत्यु भयो…।’ खड्काको त्यो भनाइले मलाई स्तब्ध बनायो । ओहो जीवन गाउने सुरिलो गलाको अन्त्य भासिएकै हो त सदाका लागि ! अब कसले गाउला नेपाली श्रोताको मन हर्ने कोकिल मखमली गीतहरू ! सुन्ने बित्तिकै मनमा बैराग पसेर दिक्दार लाग्यो । हरे ! कस्तो विडम्बना नारायण गोपाललाई मृत्युले यसरी अनायासै उठाएर उम्दा नेपाली संगीतलाई लथालिङ्ग पारिदियो ।

‘मृत्यु नै भन्यो र समाचारमा ? तपाईंले सुन्नुभएकै हो ?’

‘सुनेँ । हेर्नुस् न, रेडियोले शोकधुन मात्रै बजाएको छ ।’

शोकधुनमा रेडियो त्यसरी कुईंकिएर रोएको पनि मैले पहिला कहिल्यै सुनेको थिइनँ । कार्तिक महिनामै बिरामी भएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको कुरा त समाचारमा पढिएको थियोे । अस्पतालबाटै मृत्युले खोसी लैजाला भन्ने कतै कल्पनामै थिएन ।

झर्लक्क सम्झेँ, पैदल यात्रामा कतै उकालो चढ्दै गरेको दिन । उकालोको थाप्लोमा एउटा घर, घरको पेटिमा रेडियो । गीतका लागि सुरुमा बज्दै गरेको संगीत । त्यतिखेर यति अभ्यस्त थियोे लगाव कि कुन गीतको लागि बजेको संगीत हो थाहा लागिसक्थ्यो । पानी खाने निउँमा पानी मागेर म पेटीमा बसेँ । म थकित बटुवालाई गीत सुनाए नारायण गोपालले, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा…।’

नारायण गोपालका अन्य कर्णप्रिय गीतलाई एकाएक उछिनेर यो गीतले नेपाली साहित्य आकाशमा चाँदनी शाहलाई पनि सशक्त कवियत्रीको रूपमा स्थापित गरिदिएको थियो । वरिष्ठ संगीतकार दीपक जंगमको लोकप्रियतामा पनि थप मलजल पु¥याइरहेको थियो । ‘…मायालु विनाको हुँदो हो कति उराठ लाग्दो संसार यो, पिरती विनाको हुँदोहो कति निरस एक्लो सम्झना यो… ।’ नारायण गोपालले गीत सके, म उठेर बाटो लागेँ ।

त्यसैबखत अनेकन तर्कनाहरू दौडिए । ज्यान दाङमै भए पनि मन उडेर वीर अस्पतालको आँगनमा पुग्यो । मनले एकाएक हजारौं मान्छेको भिड ओइरिएको देख्यो । पार्थिव शरीर निकाल्दै गर्दा अर्धाङ्गिनीको अधैर्य अलापविलापले आगन्तुक शुभचिन्तक सबैलाई रुवाएको पनि देख्यो ।

शवयात्रामा बजेको गीत पनि ध्यानले सुन्यो, ‘पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो, कुर्दाकुर्दै जिन्दगी नै भैगएछ कालो…।’ तर वास्तविकता मेरो कल्पनाभन्दा पनि अझ फराकिलो रहेछ । श्रद्धाञ्जलीका लागि पार्थिव शरीर प्रज्ञा भवनमा राखिएछ । उच्च सरकारी पदस्तहरू लगायत कलाकर्मी र शुभचिन्तकले श्रद्धाञ्जली दिएछन् । हजारौं हजार स्वजनहरू शवयात्रामा सामेल भएछन् । सम्मानमा प्रहरीले ब्याण्ड बजाएछ । रेडियोमा बजेको शोकधुनले मेचीदेखि महाकालीसम्मका मनहरूलाई कम्पित पारेछ र देशलाई नै रुवाएछ ।

भौतिक शरीर मेटिए पछि उनका बारेमा बुझ्ने कौतुहलता बढ्दै गयो । जीवन कथा पढ्दै जाँदा नारायण गोपाल अत्यन्त सन्की, अटेरी र अन्तरमुखी स्वभावका घमण्डी व्यक्ति भन्ने पनि बुझिन्छ । छुस्की, चाकडी र चाप्लुसी पटक्कै मन नपराउने नारायण गोपालले आफ्नै चुलिँदो लोकप्रियता र चर्चालाई पनि महŒव नदिने प्रवृत्ति देखिन्छ । १९९६ को असोज १८ गते काठमाडौं किलागलमा जन्मेका नारायण गोपाल गुर्वाचार्यले दार्जिलिङे सुकन्या पेमा लामासँग प्रेम विवाह गरे तर दाम्पत्य जीवनमा कुनै जायजन्म हुन सकेन । २०४७ मंसिर १९ गते मृगौलाका कारण नारायण गोपाल दिवंगत भएपछि पति वियोगको पीडा खेप्दै सम्झनामा केही लामा वर्ष बिताएर पेमलाको पनि देहावसान हुन गयो । नेपालीको मन मस्तिष्कमा बज्ने कर्णप्रिय र मर्मस्पर्शी गीतहरू नै उनका सन्तान भएर बाँचिरहेका छन् हाम्रो धर्ती आकाशमा । बाँचुञ्जेल आफ्नो मेहनत र कर्म बाहेक दुनियाँसँग कुनै लिनु दिनु नभए पछि स्वाभिमानका धनीहरू प्राय सन्की र घमण्डी नै हुँदारहेछन् । गीत छनोटमा कसैसँग सम्झौता नगर्ने असल बानीले विपक्षी र विरोधीहरूलाई पनि उनको अत्यन्त बेजोड स्वर र अपरिमेय आवाजको गुरुत्वले खिचेर तरल पारिदिँदो रहेछ ।

हाम्रो समाजका गीतहरू यस्ता हुन्छन्, कुनै कालखण्डमा चर्चाको शिखरमा पुग्छन् विस्तारै ओर्लन्छन, ओझेल पर्छन् । ओझेल परेका गीतलाई फेरि केही नयाँ गीतले उछिन्छन्, छोपिदिन्छन्, पुरिदिन्छन् । तर नारायण गोपालका गीतहरू कहिल्यै पुराना हुँदैनन् र उचाइलाई पनि कसैले भेटाउदैनन्, किन कि त्यो गीत मात्रै नभएर साहित्यको एउटा भण्डार हो । जहाँ शब्द र भावसँग अत्यन्त गहिरो आत्मीय सम्बन्ध छ, तब त ती सबै गीतहरू कालजयी छन् । ‘म त लालीगुराँस भएछु वनैभरी फुलिदिन्छु मनैभरी फुलिदिन्छु । लाइदिने कोही भैदिए सिउँदोभरी फुलिदिन्छु, हेरिदिने कोही भैदिए नानीमा पनि फुलिदिन्छु….।’ जसले जीवन गायो, जीवनको मर्म गायो, देश गायो समय गायो नेपाली संगीत आकाशमा गुन्जियो तब त स्वरसम्राट कहलायो । मनले नखाएका सस्ता गीत स्वरसम्राटले गाउँदै गाएनन् ।

गीतको एउटै अन्तरामा स्वर चढाएर ६ वर्षे कलिलो बालकको आवजमा पुग्ने र झार्दै झार्दै ६० वर्षे पुरुषको धोद्रो आवाजमा पनि सजिलै गाइदिने अदभूत र अद्वितीय क्षमता थियोे उनीसँग । त्यो दुर्लभ प्रतिभालाई सितिमिति कसैले पनि अनुकरण गर्न सक्दैन, त्यसर्थ उनको पृथक पहिचान रह्यो । उनको जादुमय आवाजमा घन्कने त्यस्ता कालजयी गीत लेख्ने व्यक्तित्वहरू को हुनन् ? जसका ओजनदार र गहकिला शब्दले मान्छेको हृदय स्पर्श गर्छन्, जसको शब्द शक्तिले मस्तिष्कमा हलचल ल्याउँछन र शब्द गठनले अलौकिक आनन्द दिन्छन् । साधारण जो कोहीले यस्ता गीत सजिलै लेख्ने सामथ्र्य राख्दैनन् । साहित्यका प्रखर र दिग्गज विद्वानहरूबाट प्रस्फुटन भएका हुन अनमोल ती शब्द मोतीहरू । संगीतका महारथीहरूले अत्यन्त मेहनत पूर्वक उचित संगीत भरेर गीतलाई सशक्त पारिदिएका छन् । तब मर्मज्ञ शब्द र बेजोड संगीतबाट बनेका शक्तिशाली गीतहरूले श्रोताको मन मस्तिष्कमा अजर अमर बनेर निरन्तर राज गरिरहेका छन् ।

गीत त अरुले पनि गाए । सिद्धिचरणको त्यही गीत पहिला पनि कसैले गाइसकेका छन् । त्यसमा जब नारायण गोपाल चिच्याए, ‘मेरो प्यारो ओखलढुंगा मेरो प्यारो ओखलढुंगा …।’ तब सिद्धिचरण श्रेष्ठ जुरुक्क चर्चाको आकाशमा उचालिए । ओखलढुंगा जिल्लाको पहिचान देशैभरी फिजारियो, त्यस्तो ताकत थियोे स्वरसम्राटको गायकीमा । शाब्दिक आभासले मानवीय समवेदनालाई मुसार्न पुग्छन् उनका साहित्यिक गीतहरू । प्राज्ञिक चेतनाका गायक भएकाले उनी शब्दको गहिराईमा चुर्लुम्म डुब्थे ।

एउटा दृष्टान्त छ । आफूले दिएको गीत कस्तो बन्दै होला जान्नका लागि नारायण गोपालको घर गएछन् कवि माधव घिमिरे । नारायण गोपाल घरमा भेटिएनन्, कहाँ गएछन् ? लमजुङतिर । किन गएछन् ? त्यही गीतको लागि मस्र्याङ्दी नदिको सुसाहट सुन्न । अचम्मित भएर फर्केछन् घिमिरे । अर्को कुनै एक दिन बिहानीपख आफ्नै आँगनमा चिया खाइरहँदा एकाएक रेडियोमा उनकै गीत पो बजेछ, ‘आजै र राति के देखेँ सपना मै मरि गएको, बतासविना हाँगाको फूल भूइ झरी गएको । मस्र्याङ्दी नदि नरमाइलो सुसाइ रहेको, कहाँ हो कहाँ बादलभित्र म रोइरहेको…।’ घिमिरे किन आश्चर्य चकित परेछन् भने, आफ्नो गीत त्यति राम्रो बन्ला भनेर सोचेकै रहेनछन् । मस्र्याङ्दीको सुसाहटलाई यहाँ कथ्य र लेख्य शब्दबाट उजागर गर्नै सकिँदैन, त्यो त आफ्नै आत्माले अनुभूत गर्ने हो । त्यसैका लागि सुन्नु परेको हो मस्र्याङ्दिको सुसाहट, किनभने सांगीतिक इतिहासमा एउटा अमर गीत जो तयार हुनु थियो ।

अहिलेको युवापुस्ता नारायण गोपाल दिवंगत हुँदा सायद जन्मेकै पनि थिएन । यो पुस्तालाई समेतलाई मोहित पार्दै खिचिरहेका छन् गीतरूपि साहित्यका ती स्वर्णिम कृतिले । उनका गीत सुनेर कोही पूर्णतृप्त हुँदैनन्, त्यसैले त हाम्रो मन मनमा अत्यन्त सम्मानित छन्, नारायण गोपाल । कहिलेसम्म जाला यो सम्मान ? जहिलेसम्म पहाडका ती पाखा पखेरामा फुलिरहन्छन् लाली गुराँस । जहिलेसम्म सुसाइ रहन्छ मस्र्याङ्दी नदि । जहिले सम्म अविरल बगि रहन्छन् कोसी, गण्डकी र कर्णाली ।

साहित्यका धरोहर राष्ट्रका अमूल्य निधि स्वरसम्राट नारायण गोपाललाई हार्दिक श्रद्धाञ्जली !

– उमालाल आचार्य

प्रकाशित मितिः   १८ मंसिर २०७८, शनिबार ०५:०४