लिमीमा आजबाट खाद्यान्न ढुवानी

सुर्खेत: हुम्लाको लिमीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यन्न ढुवानी गरिने भएको छ । चीनले दिएको खाद्यन्न आइतवारदेखि ढुवानी हुने भएको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार रक्षा मन्त्रालयले आइतवार हेलिकप्टर पठाउने भएको छ । ‘सेनाको हेलिकोप्टर आइतवार सदरमुकाम सिमकोट आइपुग्छ,’ उनले भने, ‘त्यसपछि हिल्साबाट सिधै लिमीमा ढुवानी गर्छौं ।’

चीनले राहतमा पठाएको पाँच क्वीन्टल चामल र चार सय ६१ क्वीन्टल पिठो हिल्सामा छ । यही खाद्यान्न पनि अहिलेसम्म ढुवानी हुन सकेको थिएन । हिउँका कारण ढुवानी हुन नसक्दा गाउँपालिकामा खाद्यान्न संकट परिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि समयमै ढुवानी नगर्दा त्यहाँका जनता थप पीडित बनेका छन् । हुम्लावासीहरू हिउँको कष्टपूर्ण यात्रा गरी सरदमुकाम सिमकोट हुँदै सिंहदरबारसमेत पुगेका थिए । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले गृहसचिव टेकनारायण पाण्डेसँग भेटेर गाउँको समस्या सुनाएका थिए । पाण्डेले बुधवारदेखि ढुवानी गरिदिने आश्वासन दिएका थिए । तर हेलिकोप्टर र हिल्सामा खाद्यान्न लोड गर्ने कामदार नभएको भन्दै बुधवार ढुवानी भएन ।

चामल नपाएपछि तामाङ काठमाडौंमै छन् । हेलिकोप्टर उडेपछि मात्रै गाउँ फर्किने उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलसँग भेट भयो । उहाँले आइतवारदेखि ढुवानी हुने बताउनुभएको छ,’ अध्यक्ष तामाङले भने, ‘अब काठमाडौंबाट हेलिकोप्टर उडेपछि मात्रै गाउँ फर्किन्छु ।’ ढुवानीमा कमिसनको खेल हुँदा हुम्लाका अधिकांश क्षेत्रमा चामल अभाव भएको छ । ३० जनाको टोली चार दिनसम्म कठ्यांग्रिँदो हिउँ छिचोल्दै सिमकोटसम्म आइपुगेको थियो । सिमकोटबाट भने वडाध्यक्ष तामाङ र सांसद छक्कबहादुर लामा काठमाडौं आएका हन् । मंगलबार दिउँसो १ बजे सिंहदरबार पुगेका उनीहरूले अर्थमन्त्री र गृहमन्त्रीलाई भेट्न खोजेका थिए ।

मन्त्रीहरूसँग भेट नभएपछि गृहसचिव पाण्डेलाई भेटे । नाम्खाको लिमीमा करिब ११ सय जनसंख्या छ । वडा नम्बर ६ मा साढे चार सयको बसोबास छ । लोड–अनलोड गर्ने मान्छे नै नभएपछि हिल्साबाट ढुवानी गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । आइतवारपछि भने लिमीका जनताले खाद्यान्न पाउने उनको दाबी छ । ‘आइतवार नै हिल्साबाट लोड गरेर लिमी पु¥याउँछौं । लिमीमा पु¥याएपछि खाद्यान्न वितरण भने वडाध्यक्षकै रोहबरमा हुन्छ, वितरणका लागि वडाध्यक्ष नै चाहिन्छ,’ उनले भने ।

नाम्खाका लागि यस वर्ष एक हजार क्वीन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर हालसम्म ढुवानी भएको छैन । खाद्य कम्पनीले कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबुल्नेलाई स्वीकृति दिन खोज्दा ठेक्का नै विवादमा परेको छ । खाद्य कम्पनीले हवाईमार्गबाट हुम्लामा १० हजार क्वीन्टल चामल पठाउन बोलपत्र आह्वान गरेपछि चार कम्पनीले आवेदन दिए ।

प्रकाशित मितिः   १२ मंसिर २०७८, आईतवार ०५:०१