पर्यटन पूर्वाधार निर्माणमा ढिलासुस्ती

निर्माणाधीन संरचना लामो समयदेखि अधुरै, पर्यटकीय गतिविधिमा कमी

सुर्खेत: पर्यटकीय स्थलको विकास एवम् प्रवद्र्धनका लागि थालिएका अधिकांश भौतिक पूर्वाधार निर्माणका काम लथालिङ्ग छन् । पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्न सुरू गरिएका काम लामो समयदेखि अधुरै रहेका हुन् । सुर्खेतस्थित प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार निर्माणमा ढिलासुस्ती गरिएको हो ।

बुलबुले उद्यानको ताल विस्तार, काँक्रेविहार संरक्षित क्षेत्रको पर्खाल निर्माणका साथै त्यहाँसम्म पुग्नका लागि सडक स्तरोन्नतिको काम अलपत्र परेका छन् । त्यस्तै, वीरेन्द्रनगरमा निर्माणाधीन चौहान पार्कको पहिलो चरणको काम अझै सम्पन्न भएको छैन भने सहिद पार्कमा पनि कतिपय संरचना बनाउन बाँकी नै छ । बजेट अभाव, ठेकेदार कम्पनीको लापरवाही र सरकारी निकायको बेवास्ताका कारण तोकिएको मितिमा पूर्वाधार निर्माण भएका छैनन् । पूर्वाधार विकास गरी थप पर्यटक भित्र्याउने सरकारी तथा निजी क्षेत्रको उद्देश्य थियो । संरचना निर्माणको प्रगति सुस्त भएपछि उक्त योजना सफल हुन सकेको छैन ।

पछिल्ला दिनमा यी स्थलहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकमा कमी आएको छ । जीर्ण बनेका संरचना भत्काइएका छन् । बनाउन थालिएका नयाँ भौतिक संरचना पूरा भएका छैनन् । तिनको विकास तथा विस्तारमा धेरै समय लगाइँदा पर्यटकीय गतिविधिमा असर परेको हो । ताल विस्तार गर्ने योजनासहित दुई वर्षअघि बुलबुले उद्यानमा काम सुरू गरिएको थियो । प्राकृतिक रूपमा रहेको ताल पुरिएको छ । पहिलेभन्दा दोब्बर क्षेत्रफलमा विस्तार गर्ने भनिएको ताल अहिलेसम्म बनेको छैन । बुलबुलेको मुख्य आकर्षण भनेकै ताल हो । ताल नै नभएपछि अवलोकनका लागि आएका पर्यटक निराश भएर फर्कने गरेका छन् । यहाँ विगतका वर्षहरूको तुलनामा पर्यटकीय गतिविधि समेत घटेका छन् । बुलबुले उद्यानमा कार्यरत सुर्खेत उपत्यका नगर विकास समितिका कर्मचारीहरूका अनुसार ताल पुरिएपछि घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ देखि बुलबुले उद्यानको विकासका लागि बजेट विनियोजन गर्दै आएको छ । नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार मन्त्रालय मातहतको वन निर्देशनालयले संरचना निर्माणको काम अघि बढाएको छ । क्रमागत योजना भएकाले विनियोजित रकम खर्चमा समेत बेवास्ता हुने गरेको छ । पूर्वाधार निर्माणका कामले गति लिन सकेका छैनन् । सुरूको वर्ष प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको थियो । त्योमध्ये एक करोड ९६ लाख मात्र खर्च भयो । बाँकी बजेटको टेन्डर नै रद्द भएको गरिएको हो । पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ६० लाख विनियोजन भएकोमा एक करोड १३ लाख खर्च भएको छ ।

बुलबुलेमा भौतिक संरचना निर्माणका गर्न चालु आर्थिक वर्षका लागि एक करोड बजेट छुट्याइएको छ । प्रदेश वन निर्देशनालयका प्रमुख शिवराम अधिकारीले यो वर्षको टेन्डर गर्ने तयारी भइरहेको जनाए । ‘अबको एक महिनाभित्र बाँकी कामका लागि टेन्डर आह्वान हुनेछ,’ उनले भने । निर्देशक अधिकारीका अनुसार बुलबुलेमा ताल विस्तार, इत्राम खोलामा तटबन्ध, पैदलमार्ग, ताल संरक्षणका लागी घेरबार, रेलिङ, ताल नजिकै बोटिङ डाई संरचना बनाउने योजना छ । उद्यानभित्र २० वटा सोलार बत्ती जडान र दुई ठाउँमा सेल्फी पोइन्टको काम सम्पन्न भइसकेको अधिकारीले बताए । यसवर्षको बजेटबाट तालको वरिपरी फूटपाथ व्यवस्थापन, वनभोज स्थल, तालको पूर्वतिर बगैँचा र तालको निकाश रहेको स्थानमा झोलुङ्गे पुल निर्माण गरिनेछ । वि.सं. २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकार साथै र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ ।

गुरुयोजनाअनुसार बुलबुले उद्यानका संरचना निर्माण र व्यवस्थापनका लागि झण्डै ३२ करोड लाग्ने अनुमान गरिएको छ । हालसम्म यहाँ तीन करोड १० लाख बजेट खर्च गरिएको छ । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको सङ्कलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरुषका लागि पाँच/पाँचवटा धारा छन् ।

यसैगरी, काँक्रेविहार संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणमा ढिलाइ भएको छ । उक्त क्षेत्रको घेरबारका लागि पर्खाल निर्माण थालिए पनि अलपत्र अवस्थामा छ । संरक्षित क्षेत्रको केही जग्गा बाहिर छोडेर पर्खाल लगाइएको भन्दै स्थानीयले विरोध जनाएपछि निर्माणको काम स्थगित भएको हो । स्थानीयबासिन्दा र वन डिभिजन कार्यालयबीच विवाद बढ्दै जाँदा ऐतिहासिक काँक्रेविहार परिसरमा पर्खाल लगाउने विषय अदालतसम्म पुगेको छ । वीरेन्द्रनगर बजारदेखि काँक्रेविहार जोड्ने सडक समेत लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । तीन वर्षअघिदेखि निर्माण थालिएको यो सडकको काम अझै पूरा नभएको हो । कच्ची र अस्तव्यस्त सडकले स्थानीयसँगै काँक्रेविहार अवलोकनका लागि आउनेहरूलाई सास्ती छ ।

वीरेन्द्रनगरमा निर्माणाधीन चौहान पार्कको निर्माणकार्य पनि सुस्त छ । पार्कको हालसम्म पहिलो चरणको ‐पर्खाल निर्माण) को ५० प्रतिशत काम मात्र सम्पन्न भएको हो । गत आर्थिक वर्षको अन्तिममा पर्खाल निर्माणका लागि सम्झौता भएको थियो । डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी सूर्यप्रसाद शर्माले पर्खाल निर्माणको काम आधा सम्पन्न भएको जनाएका छन् । सम्झौताअनुसार एक वर्षमा सक्नुपर्ने काममा ढिलाइ भएपछि चार महिना म्याद थप गरिएको छ । पार्कको पहिलो चरणको निर्माणका लागि गत आर्थिक वर्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक करोड ७२ लाख बजेट छुट्याएको थियो । त्यसमध्ये ७२ लाख बजेट मात्र खर्च भएको थियो ।

प्रकाशित मितिः   १२ मंसिर २०७८, आईतवार ०५:०५