दोस्रो खेलमा कर्णाली पराजित

सुर्खेत: १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली प्रदेश पराजित भएको छ । बिहीवारको खेलमा प्रदेश नं. १ ले कर्णालीलाई ७६ रनअन्तरले पराजित गरेको हो ।

प्रदेश १ ले दिएको दुई सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली ३८ ओभरमा अलआउट हुँदै एक सय ६३ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि रूपक दाहालले सर्वाधिक ४१ रन जोड्दा मनिस थापाले ३९ रनको योगदान गरे । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का श्रवण किस्कुले सर्वाधिक ४ विकेट लिए । लभ कामतले ३, गौरव कटुवालले २ र दिपेश कंडेलले १ विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय ३९ रनको योगफल तयार पारेको थियो । प्रदेश १ का लागि विवेक आनन्द मेहताले सर्वाधिक ५३ रनको योगदान गरे । ८२ बल खेल्दा मेहताले ५ चौका र २ छक्का प्रहार गरे । अंकित सुवेदीले ३७, सोनु मण्डलले २५, सोनी अन्सारीले २४ तथा दिपक जोशीले २३ रन जोडे ।

कर्णालीका लागि अनुज कुमार चनारा, रूपक दाहाल र सन्दिपजंग शाहीले समान दुई–दुई विकेट हात पारे । प्रकाश जैसी र सुवास ऐयरले एक–एक विकेट लिए । बुधवार भएको पहिलो खेलमा भने कर्णालीले लुम्बिनी प्रदेशलाई एक सय ४० रनको अन्तरले पराजित गर्दै सानदार जित हात पारेको थियो ।

प्रकाशित मितिः   ९ मंसिर २०७८, बिहीबार २०:२१