कुवेतविरुद्ध नेपालको जित

काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत बिहीवार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हराएको छ। दुबईस्थित रंगशालामा कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले ३ ओभर ३ बल खेल्दै भेट्टाएको हो।

नेपाललाई जित दिलाउन कप्तान रुबिना क्षेत्रीले अविजित १२ रन बनाइन् भने इन्दु बर्माले १३ रन बनाइन्।

यसअघि ब्याटिङ गरेको कुवेतले १५ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २७ रन बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतका ६ जना ब्याटर शून्य रनमा आउट भएका थिए।

कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालकी संगता राईले २ ओभर ४ बल फ्याँक्दै केवल २ रन दिएर ३ विकेट लिइन्। कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान २/२ विकेट लिएका थिए।

सरस्वती चौधरीले १ विकेट लिएकी थिइन्।

६ टोली सम्मिलित छनोटको शीर्षस्थानमा रहने टोलीले टी–२० विश्वकप छनोटको ग्लोबल छनोट खेल्न पाउनेछ।

प्रकाशित मितिः   ९ मंसिर २०७८, बिहीबार १३:२७