लिमीमा खाद्यान्न पुर्‍याइने

सुर्खेत: खाद्य संकट टार्न हुम्लाको लिमीमा खाद्यान्न पठाइने भएको छ । भोकमरीको भयमा रहेका नाम्खा गाउँपालिका–६ का बासिन्दालाई संघीय सरकारले खाद्यान्नको व्यवस्था गर्ने भएको हो । गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत हिल्सा नाकामा अड्किएको खाद्यान्न पुर्‍याउने तयारी गरिएको छ । शुक्रवारसम्म लिमीमा खाद्यान्न ढुवानी भइसक्ने जनाइएको छ । लिमी क्षेत्रका तिल, जाङ र हल्जीका बासिन्दा सरकारलाई पीडा सुनाउन काठमाडौंसम्म पुगेका छन् ।

खाद्य संकट चुलिँदै जाँदा भोकमरी हुने देखिएपछि स्थानीय राज्यसँग चामल माग्न सदरमुकाम सिमकोट आएका थिए । त्यहाँबाट समस्या समाधान हुने छाँट नदेखेपछि उनीहरू सिंहदरबार गुहार्न गएका हुन् । लिमीबासी पाँच हजार मिटर उचाइको न्यालुलेकमाथि तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गर्दै पाँच दिन हिँडेर सदरमुकाम सिमकोट आएका थिए । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ, हुम्लाका सांसद छक्कबहादुर लामासहितको टोलीले खाद्य संकटबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौं पुगेका जनप्रतिनिधिको टोलीलाई सरकारले तत्काल खाद्यान्न व्यवस्था गर्ने आश्वासन दिएको छ । गृह मन्त्रालयका अनुसार उक्त क्षेत्रमा मंसिर १० गतेसम्म हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिने भएको छ । त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत स्थलमार्ग हुँदै सुर्खेत, नेपालगञ्ज र धनगढीबाट सिमकोटमा खाद्यान्न आपूर्ति गर्ने बताइएको छ ।

सरकारले हुम्लाको नाम्खा गाउँपालिकामा गत वर्षदेखि चामल पठाएको छैन । एक महिनाअघि चीन सरकारले चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गाउँपालिकाले गरेको थियो । हिमपातका कारण बाटो अवरुद्ध भएपछि हिल्सामा आइपुगेको चिनियाँ सहयोगको खाद्यान्न पनि त्यतै थन्किएको थियो । सरकारले सोही खाद्यान्न हेलिकोप्टरमार्फत लिमी पुर्‍याउने जनाएको हो ।

गृह मन्त्रालयको विपद् व्यवस्थापन कोषबाट खर्च बेहोर्ने गरी खाद्यान्न ढुवानी गरिने भएको छ । छिटो र सरल प्रक्रियाका लागि गृहको कोषबाट ढुवानी गर्न लागिएको सरकारी अधिकारीहरूले बताएका छन् । गृहका अनुसार हुम्लाको उत्तरी भेकमा खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर प्रयोग गरिने छ । हिल्सादेखि लिमीसम्म हेलिकोप्टरबाट ढुवानी गर्न एक खेपमा करिब १० मिनेट समय लाग्ने बताइएकोे छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले प्रतिकूल मौसमका कारण एक पटकमा १५ देखि २० क्वीन्टल मात्रै खाद्यान्न ओसार्ने सम्भावना रहेको जनाए । प्रजिअ आचार्यका अनुसार हेलिकोप्टरमा खाद्यान्न लोड–अनलोड गर्न सघाउने जनशक्ति लिमी क्षेत्रबाट बुधवार बिहानै हिल्साका लागि हिँड्ने छ । उनले गृह मन्त्रालयको निर्देशनपछि लिमी क्षेत्रमा देखिन थालेको भोकमरीको संकट तत्काललाई समाधान हुने अपेक्षा गरिएको बताए । गाउँको समस्या लिएर काठमाडौं पुगेका नाम्खा गाउँपालिका– ६ का अध्यक्ष तामाङसहितको टोलीले खाद्यान्न पठाइने भएपछि खुसी व्यक्त गरेका छन् । लिमी क्षेत्रसँगै सदरमुकाम सिमकोटआसपासमा पनि चामल सकिएकाले स्थानीय समस्यामा पर्न थालेको जनप्रतिनिधिहरूको भनाइ छ ।

सरकारले खाद्यान्नमा परनिर्भर कर्णालीका ६ जिल्लामा हरेक वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको छ  ।

प्रकाशित मितिः   ९ मंसिर २०७८, बिहीबार ०५:०२