प्रदेशसभाको अधिवेशन आह्वान

मुख्यमन्त्रीले मंसिर १४ मा विश्वासको मत लिने

सुर्खेत: कर्णाली प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते बैठक बोलाइएको हो । सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संसद् बैठक आह्वान गरेका हुन् । मुख्यमन्त्रीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभा सचिवालयका अनुसार १४ गते दिउँसो १ बजे संसद् बस्ने छ ।

सत्ता गठबन्धन दलको समर्थनमा शाही मुख्यमन्त्री बनेका छन् । नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी) का तीन र कांग्रेसका ६ गरी २१ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । हाल ३५ सदस्यीय प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ र राप्रपाका एक जना सांसद छन् ।

नेपालको संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्रीले आफू नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री शाही कार्तिक १६ गते नियुक्त भएका हुन् । आफु मुख्यमन्त्री भएको दुई सातापछि मात्र उनले मन्त्रीपरिषद् विस्तार गरेका थिए । यद्यपि सरकारले पूर्णता भने पाउन सकेको छैन । गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति नहुँदा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भइरहेको छ ।

प्रकाशित मितिः   ४ मंसिर २०७८, शनिबार १२:२७