मन्त्री नपाएपछि सांसदबाट राजीनामा दिएका शाही बने मन्त्री
सुर्खेत – २०७४ फागुनमा पहिलो पटक कर्णाली प्रदेश सरकार गठन हुँदा नेकपा (एमाले)बाट मन्त्री बन्नेको चर्चामा थिए, मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही । उनले सभामुख वा मन्त्रीमध्ये एक पदका लागि दाबी प्रस्तुत गरेका थिए । तर महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा उनी परेनन् । मन्त्री नपाएको झोकमा शाहीले सांसद पदबाटै राजीनामाको घोषणा गरे ।
उनले सांसदबाट मात्रै राजीनामा दिएनन् पार्टी नेतृत्वलाई पार्टीको सदस्यता समेत त्याग्ने चेतावनी दिए । प्रदेश सरकार गठनमा पार्टीले आफ्नो योगदानको मूल्यांकन नगरेको भन्दै चर्को असन्तुष्टि पोखेका थिए । हुलाकमार्फत सभामुखलाई राजीनामा पत्र पठाएका उनले केही समयपछि भने उक्त राजीनामा फिर्ता लिएका थिए ।
यसअघि सरकारमा सहभागी हुन नपाएका शाहीको मन्त्री बन्ने सपना चार वर्षपछि पूरा भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलवार उनलाई मन्त्री बनाएका हुन् । शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेबाट प्रदेशसभा सदस्य जितेका उनी अहिले नेकपा (एकीकृत समाजवादी)मा छन् ।
प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १९:५७
साझा बिसौनी ।