मन्त्री थानीको सम्पत्ति : ६६ तोला सुन, ३ किलो चाँदी
सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बुधवार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार सहकारी तथा गरिबी निवारण मन्त्री हृदयाम थानीको नाममा घरजग्गादेखि सुनसम्म रहेको पाइएको छ ।
सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसँग तीन तोला सुन र एक कठ्ठा जग्गामा मात्र देखिँदा सुर्खेत क्षेत्र नं. २ का सांसद एवम् गरिबी निवारण मन्त्री थानीसँग ६६ तोला सुन र तीन किलो चाँदीका गरगहना रहेको पाइएको छ । पैत्रिक सम्पत्ति र दाइजोबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
त्यसैगरी बैंक, वित्तीय संस्था तथा सहकारीमा थानीको नाममा रहेको खातामा दुई लाख आठ हजार रूपैयाँ मौज्दात रहेको छ । उक्त रकम घरभाडा, कृषि र पारिश्रमिकबाट जम्मा गरिएको थानीले जनाएका छन् । सुर्खेतकै विभिन्न चार स्थानमा गरी २१ कठ्ठाभन्दा बढी जग्गा भएका उनको वीरेन्द्रनगरमा एउटा घर छ । ऋण गरेर घर बनाएको थानीले जनाएका छन् । घर बनाउँदा लिएको ऋणमध्ये अझै २० लाख तिर्न बाँकी देखाएका छन् । उनले घरको ताला थप्न २०६५÷०६६ मा वाणिज्य बैंक सुर्खेतबाट तीन पटक गरी ४७ लाख रूपैयाँ ऋण लिएका थिए । जसमध्ये २७ लाख तिरिसकेका छन् भने २० लाख तिर्न बाँकी रहेको विवरण उनले बुझाएका छन् । त्यस्तै सुर्खेतमा प्रस्तावित कलेजमा लगानी गर्नका लागि नेपाल बैंक लिमिटेडबाट ३० लाख रूपैयाँ ऋण लिएको तर उक्त रकम आफन्तलाई दिएको उनको विवरणमा उल्लेख छ ।
पहिलो पटक मन्त्री भएका थानीले एउटा बैंक र एउटा आयल स्टोरमा लगानी गरेको पाइएको छ । सार्वजनिक विवरण अनुसार डेभलपमेन्ट क्रेडिट बैंकमा शेयर लगानी गरेका उनको सुर्खेतकै दीपमाला आयल स्टोरमा पनि २५ प्रतिशत शेयर थानीकै रहेको छ । तीन जनाको संयुक्त लगानीमा दीपमाला सञ्चालन गरिएको हो । जसमा थानीको २५ प्रतिशत शेयर अर्थात् १८ लाख ७५ हजार बराबरको लगानी रहेको छ । उक्त आयल स्टोरका लागि बागेश्वरी बैंकबाट ऋण लिएर लगानी गरेको जनाएका छन् भने हाल ऋण चुक्ता भइसकेको र मुनाफामा चलेको जनाइएको छ । दुई पटक सांसद र एक पटक मन्त्री बनेका थानीको नाममा हाल कुनै पनि सवारी साधन भने छैनन् ।
प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार २३:५९
साझा बिसौनी ।