कर्णाली एक्स्पो उद्घाटन र प्रधानमन्त्रीको अभिव्यक्ति

bal-art

यही मंसिर २३ गतेदेखि सुर्खेतमा ‘लगानी वर्ष २०७३ को आधार, दिगो आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नारासहितको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन भइरहेको छ । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पानसमा बत्ती बालेर गरेका थिए । १२ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको भएता पनि प्रचण्ड दिउँसो ३ बजे मात्र खुला चौरमा आइपुगे । आयोजक समितिका सदस्यहरू उद्घाटन कार्यक्रमलाई सफल पार्न कतै स्कुले विद्यार्थीहरूलाई जुलुसमा लाइन लगाउँदै थिए भने कोही विभिन्न ठाउँबाट बोलाइएका सांस्कृतिक समूहका झाँकीहरूलाई जुलुसमा लामवद्ध गराउन मंगलगढीको चौकमा थिए ।

बिहान ११ बजे मात्र बाजागाजासहित जुलुस प्रस्थान ग¥यो । वीरेन्द्रनगरका केही भागहरू परिक्रमा गर्दै जुलुस गणेशचौक पुग्दा नपुग्दै सुर्खेत होराइज एकेडेमी बोर्डिङ स्कुलकी कक्षा ९ मा पढ्ने १३ वर्षीया छात्रा समीक्षा आचार्य बेहोस भएर सडकमा ढल्न पुगिछन् । उनलाई सोही विद्यालयका शिक्षकहरूले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै दम तोडी उनले यस संसारबाट बिदा लिएर गइछिन् । साँझ फेसबुकका वालहरूमा नियाल्दा मात्रै यस दुःखद् घटनाको जानकारी भयो । विकसित मुलुकहरूमा जस्तासुकै मेला उत्सवहरूमा पनि स्कुले बालबालिकाहरूलाई जुलुसमा प्रयोग गर्ने कार्यलाई निषेध गरिएको हुन्छ, तर हाम्रो देशमा विभिन्न राजनीतिक पार्टीदेखि संघ संस्थाहरूले समेत मान्छे जम्मा गर्ने नाममा स्कुले बालबालिकाहरूलाई उपयोग गरेको देखिन्छ र त्यसैको पछिल्लो सिकार भइन् यो मेलाको उद्घाटनमा समीक्षा आचार्य ।

सुर्खेतमा जस्तै कैलालीको धनगडीमा पनि २२ मंसिरमा महोत्सवको आयोजना गरिएको थियो । त्यसको उदघाटन गर्न पनि प्रधानमंन्त्री प्रचण्ड नै त्यहा पुगेका थिए । उनलाई सुदूरपश्चिमका जनताले ५ नं. प्रदेशबाट पहाडी जिल्लाहरूलाई टुक्राएर तराईको छुट्टै क्लस्टर बनाएर ५ नं. प्रदेशलाई कञ्चनपुरसम्म कायम गर्ने, अर्काे, नागरिकता सम्बन्धी राष्ट्रघाती प्रस्तावमा अन्तरिम संविधानमा राखिएको अङ्गीकृत नागरिकको सन्तानलाई वंशज वा जन्मसिद्ध नागरिक बनाउने र नेपालमा बसोबास गरेका अंगिकृत वा वंशज नेपाली नागरिकले विदेशी महिलासँग विवाह गरेपछि तुरुन्त वंशजको नागरिकता दिन प्रस्ताव गरिएको विरोधमा कैलालीका जनताले उनलाई कालो झण्डा देखाए । उनीहरूले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव फिर्ता लिन दबाब नै दिए । सरकारले आन्दोलनकारीहरूलाई धरपकड गरेपछि मंसिर २३ मा सुदूरपश्चिम बन्द गरिदिए । त्यसै दिन प्रचण्डलाई मेला उद्घाटन गराउन सुर्खेत उद्योग वाणिज्य संघले बोलाएर ठूलो सम्मान प्रकट ग¥यो । तर सुर्खेत स्थित धेरै क्रियाशील राजनीतिक पार्टीहरूले उनी उपस्थिति रहेको मेला उद्घाटन कार्यक्रम अस्वीकार गरिदिएर मञ्चमा नै गएनन् । मञ्चमा विराजमान भएका अर्का अतिथि क्षेत्र नं. २ का सांसद एवम् सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले राष्ट्र र जिल्लाका समस्यालाई पेचिलो र सशक्त ढङ्गले उठाउनु भन्दा पनि प्रचण्ड कै बखानमा आफ्नो मन्तव्य सक्काए । उनको भाषण सुन्दा यस्तो लाग्थ्यो कतै उनलाई प्रचण्डकै बखान गर्नका लागि अतिथि बोलाइएको त होइन ?

विगतका महोत्सव मेलाहरूमा जस्तै यो मेलामा पनि मागपत्रका फेहरिस्त आयोजक समितिका संयोजकले प्रधानमन्त्रीलाई बुझाए । उनले मन्तव्य राख्दै भने ‘हामी यस क्षेत्रका जनताहरू गरीब भएर जन्मिएका छौं तर गरीब भएर मर्न चाहान्नौं ? हामी समृद्धि चाहान्छौं, विकास चाहान्छौं त्यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छौं’ । करिब पौने ५ बजे प्रचण्डलाई मन्तव्य राख्न सञ्चालकले बोलाए । उनले मन्तव्यको क्रममा टिपोर्टहरूको बाचन गर्दै यस क्षेत्रको विकासको लागि आफूले विगतदेखि नै कार्य गर्दै आएको र अझ पनि लागिरहने बताए । उनको मन्तव्य सुन्दा यस्तो लाग्दथ्यो, यो कुनै मेला महोत्सवको उद्घाटन हो वा कुनै जिविसको जिल्ला परिषद् जसमा स्थानीय विकास अधिकारीले परिषद् भेलामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । त्यसपछि उनले आफ्नो ध्यान अहिले सुशासन, पुनर्निर्माण र विकास निर्माणतिर केन्द्रित रहेको बताए । ६०/६५ वर्षदेखि अहिलेसम्म देशमा राजनीतिक आन्दोलन मात्र भएको र अब आर्थिक विकासतिर फडको मार्नुपर्ने तथा त्यसका लागि आफूले भारत जाँदा गोवामा चीन र भारतका सरकार प्रमुखहरूसँग बढो स्पष्टसँग कुरा राख्दै तपाईंहरू जति विकसित भए पनि नेपाललाई गरीब राखेर चयनको निद सुत्न पाउनु हुनेछैन भन्दै चुनौती दिएको कुरा बताए । उनको भनाइबाट यस्तो निश्कर्ष निस्कन्थ्यो कि नेपाल राष्ट्र र नेपाली गरीब हुनुको पछाडी देशका शासकहरू होइनन् यहाको शासन व्यवस्था होइन, उत्तर र दक्षिणतिरका छिमेकी मुलुकहरू हुन उनको आशीर्वाद र कृपाले मात्र देशलाई समृद्धि र नेपालीले भोगिरहेको गरिबी हटाउन सकिनेछ । यस्तो पराधिनतावादी शोच र चिन्तन भएका कथित जनयुद्धका नायक मानिने प्रचण्डको अभिव्यक्तिबाट सबै स्वाभिमानी नेपालीलाई सर्मिन्दा बनाएको थियो ।

उनले अन्तमा भने आफूले अहिले जोखिम मोलेर संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको र त्यसले मधेसी, थारु र जनजातिहरूको मुद्दाहरूलाई सम्बोधन गर्न र देशलाई निर्वाचनतिर लग्न मद्दत गर्नेछ । उनले देशभरी देखिएको संविधान संशोधन प्रस्तावको विरुद्धको जनताको जनमतलाई जसले जति विरोध र काला टाला देखाए पनि आफूपछि नहट्ने र बरु परिमार्जित गरेर भए पनि पास गरेरै छाडने चुनौती दिए । उनको अभिव्यक्तिबाट यस्तो लाग्छ कि उनी देशका कुशल शासक होइनन् उनी सिक्किमका लेण्डुप दोर्जेको मार्गतिर आफनो कुर्ची र सत्ता जोगाउन भारतीय विस्तारवादको असल चाकर बनेर भूमिका निभाउँदैछन् ।

आयोजकले त्यसदिन प्रधानमन्त्री प्रचण्डको साँझको बास यही सुर्खेत वीरेन्द्रनगरमा हुने कुरा बताएका थिए । तर यही बास बस्दा समेत आफ्नो उद्घाटन कार्यक्रममा स्कुलबाट जुलुसमा सहभागी हुन बोलाइएकी छात्रा समीक्षा आचार्यको निधन हुन पुग्दा न त आयोजकले स्वर्गीय आचार्य र उनको परिवारलाई भेटेर सान्त्वना दिन प्रचण्डलाई लिएर गए न त प्रचण्डको दिमागमा नै त्यो कुरा आयो । यसरी कर्णाली एक्स्पो १६ अन्तर्राष्ट्रिय मेलाको उद्घाटन कार्यक्रमलाई नियाल्दा वा देशका प्रधानमन्त्रीका अभिव्यक्ति वा विचार सुन्दा देशले सहज निकास पाउने, संविधान कार्यावयनको विषयले जोड पकडने भन्दा पनि देश अशान्ति, मुठभेड, फिजी र सिक्किमीकरणको दिशातिर नै बढी अग्रसर हुने सम्भावनाहरू बढेर गएको छ । देशको यस्तो जटिल राजनीतिक परिस्थितिमा यस क्षेत्रका जनताहरू पनि मेला महोत्सवहरूमा रमाउने मात्र होइन कि विगतमा यस क्षेत्रका जनताले अखण्ड आन्दोलनका लागि गरेको बलिदान र संघर्षलाई सम्झदै यो प्रदेशलाई तराईसँग जोड्न र सरकारले दर्ता गरेको राष्ट्रघाती संशोधन प्रस्तावलाई फिर्ता गराउन सशक्त प्रकारले आन्दोलनको उठान गर्नु पर्दछ । यही नै अहिले समय र परिस्थितिले गरेको माग हो ।

प्रकाशित मितिः   २९ मंसिर २०७३, बुधबार २३:२८