शर्माका परिवारलाई नेजाको आर्थिक सहयोग

सुर्खेत:  स्वर्गीय पत्रकार डिलप्रसाद शर्माका परिवारलाई नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको पहलमा नेजाले शर्माका परिवारलाई ६५ हजार रूपैयाँ सहयोग गरेको हो । बिहीवार वीरेन्द्रनगरमा नेजा र पत्रकार महासंघको टोलिले शर्माकी आमा खगिसरा जैसीलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग प्रदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघको अनुरोधलाई स्वीकार गरी सहयोग रकम उपलब्ध गराएकोमा नेजालाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि पत्रकार र उनीहरूका परिवारका समस्यामा यसरी नै हातेमालो हुने विश्वास व्यक्त गरे । आर्थिक सहयोग हस्तान्तरणमा महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, नेजाका अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

बोनम्यारोसम्बन्धी समस्याले पीडित पत्रकार शर्माको २३ वर्षको उमेरमा दुई वर्षअघि उपचारको क्रममा निधन भएको थियो । दैलेखका स्थायी बासिन्दा शर्मा सुर्खेतमा रहेर पत्रकारिता गर्थे । उनी साझा बिसौनी दैनिकमा आवद्ध थिए ।

प्रकाशित मितिः   २५ कार्तिक २०७८, बिहीबार १८:०१