विमानस्थल विस्तारको विकल्प
सुर्खेत विमानस्थल विस्तारको योजना फेरि अलपत्र परेको छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको थियो । सोही योजना अनुसार पछिल्लो पटक करिब ३० विगाहा जमिन अधिग्रहणको तयारी थालिएको थियो । तर योजना कार्यान्वयनको सुरुवातमै विवाद निम्तियो । अधिग्रहणमा पर्ने क्षेत्रका नागरिकले विरोध गरेपछि अहिले विस्तार योजना नै अलपत्र परेको छ । प्रदेश सरकारले विमानस्थल विस्तारका लागि गत आर्थिक वर्षमा ५० करोड रूपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । त्यो मध्येको पाँच प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले बेहोर्ने समेत सहमति भएको थियो । विस्तारको काम अघि नबढेपछि प्रदेशले छुट्याएको बजेट फ्रिज गएको छ । झन्डै दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको विमानस्थल निर्माणका लागि संघीय र प्रदेश सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
विमानस्थलको उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाइ विस्तार गर्ने योजनासहित अध्ययन थालिएको थियो । त्यसका लागि ३० बिगाहा क्षेत्रफल जमिन अधिग्रहण गर्न प्रक्रिया अघि बढाइएको थियो । प्रभावित क्षेत्रका बासिन्दाको जग्गा रोक्का समेत गरियो । तर, उक्त जग्गा अहिले फुकुवा भइसकेको छ । जग्गा अधिग्रहणमा समस्या भएपछि स्तरोन्नतिका कामहरू अगाडि नबढेका हुन् । तीनै तहका सरकारको समन्वय र संयुक्त लगानीमा गर्न लागिएको विमानस्थल विस्तारको काम सुरुवाती चरणमै अन्योल बनेको हो । प्रभावित क्षेत्रका बासिन्दाले चर्को विरोध गरेपछि विस्तार कार्यमा नागरिक उड्डयन कार्यालय र प्रदेश सरकार पछि हटेका छन् । पछिल्लो पटक वीरेन्द्रनगर नगरपालिकाले नै असहमति राखेपछि विमानस्थल स्तरोन्नतिको चर्चा समेत सेलाएको छ । स्थानीय सरकार नै राजी नहुँदा प्रदेश र केन्द्र सरकारले थालेको सुर्खेत विमानस्थलको विस्तार कार्य अलपत्र परेको हो । सुरूमा लगानी गर्न समेत सहमत बनेको नगरपालिका स्थानीयको विरोध थेग्न नसकेपछि सो निर्णयबाट पछि हट्यो । गत माघ ३ गते कार्यपालिका बैठकबाट नै विमानस्थल विस्तार कार्य तत्कालका लागि रोक्ने निर्णय गरियो ।
स्थानीय बासिन्दाले सकभर अन्यत्रै विकल्प खोज्नुपर्ने यदि अहिलेकै विमानस्थल विस्तार गर्नेभए प्रभावित बस्तीको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै आएका छन् । यसअघि पनि थुप्रै पटक विमानस्थल विस्तार गरिएको थियो । तर, न त ठूलो क्षमताका जहाज आए न पर्याप्त धानमार्ग बन्यो । विगतका वर्षहरूमा पटक–पटक विभिन्न एयरलाइन्स कम्पनीले परीक्षण उडान गरेपनि नियमित उडान हुन सकेन । सुर्खेत विमानस्थलमा हाल बुद्ध एयरलाइन्सले मात्र नियमित उडान गर्छ । एउटा मात्र एयरलाइन्सले सेवा दिँदा भाडादर समेत निकै महँगो छ । एकातिर भाडा धेरै र अर्कोतिर हवार्ई सेवा भरपर्दो तथा नियमित नहुँदा कर्णालीका जिल्लाबाट नेपालगञ्ज विमानस्थल भएर काठमाडौं जानुपर्ने बाध्यता टरेको छैन । न भएको विमानस्थल विस्तार हुन सकेको छ न त नागरिक सहज सेवा पाएका छन् । यो अवस्थाको अन्त्य गर्न दीर्घकालिन विकल्प खोज्नका लागि ढिलाई गर्नु हुँदैन ।
प्रकाशित मितिः २५ कार्तिक २०७८, बिहीबार ०५:००
सम्पादकीय ।