एमाले महाधिवेशनः सुर्खेतमा प्रतिनिधि छनोट प्रक्रिया सुरू

जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा गरी १७ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

सुर्खेतः नेकपा (एमाले) सुर्खेतले यही कार्तिक २७ मा महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि चयनको प्रक्रिया थालिएको हो । त्यसका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरमा प्रतिनिधि छनोट व्यवस्थापन समिति गठन गरिएको छ । आज जिल्ला पार्टी कार्यालयमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ ।

त्यस्तै, २६ गते ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाइने छ । २७ गते बिहान आठ बजेदेखि साँझ ५ बजेसम्म सबै स्थानीय तहको केन्द्रमा महाधिवेशन प्रतिनिधिका लागि मतदान हुने एमाले सुर्खेतले जनाएको छ । जिल्ला कमिटी सदस्य घनश्याम पाण्डेले सकभर सर्वसहमतिमा प्रतिनिधि छनोटको प्रयास भइरहेको जनाए । उनकाअनुसार सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्रमा गरी १७ जना प्रतिनिधि चयन हुनेछन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा दुई महिलासहित आठ र क्षेत्र नं. २ मा तीन महिलासहित नौ प्रतिनिधि रहनेछन् । दलित समुदायको भने जिल्लालाई एक निर्वाचन क्षेत्र मानी एक पुरुष र एक महिला प्रतिनिधि रहने जनाइएको छ । एमाले नेताहरूका अनुसार सुर्खेतमा महाधिवेशन प्रतिनिधिका लागि करिब २५ जना आकांक्षी देखिएका छन् । एमालेले यसअघि अधिवेशनमार्फत स्थानीय कमिटीका कार्यसमिति चयन गरिसकेको छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७८, बुधबार १२:३४