मुख्यमन्त्रीद्वारा यातायात कार्यालयको अनुगमन

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतको अनुगमन गरेका छन् । उनले मंगलवार उक्त कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् । मुख्यमन्त्री शाहीले सेवाग्राहीका समस्या र त्यसको समाधानको उपायका बारेमा सम्बन्धित पक्षसँग छलफल गरेका छन् । यातायातमा सेवा लिनै सास्ती हुने गरेको गुनासो आउन थालेपछि त्यसबारे बुझ्न उनी आफैं त्यहाँ पुगेका हुन् । सोही क्रममा मुख्यमन्त्री शाहीसँग सेवाग्राहीहरूले विभिन्न गुनासो गरेका छन् । कार्यालयले सेवा लिन गएकालाई अनुसूची फारम भर्न नदिएको, मध्यस्तकर्तामार्फत काम गर्दा १५ रूपैयाँ लाग्ने फारमलाई एक सय रूपैयाँ तिर्नुपर्ने बाध्यता रहेको लाभग्राहीको गुनासो थियो । सेवा प्रवाह व्यवस्थित नहुँदा राजस्व तिर्न घण्टौंसम्म लाइनमा बस्नु परेको सेवाग्राहीले बताएका थिए ।

मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सुनेपछि तत्काल अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आवश्यक कर्मचारी जनशक्ति नभए प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन गरे । कार्यालय आफैले गर्न सक्ने न्यूनतम् व्यवस्थापनका कामहरू पनि नभएको भन्दै मुख्यमन्त्रीले सेवा प्रवाह तत्काल सुधार गर्न सुझाएका थिए । सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग पनि मुख्यमन्त्रीले छलफल गरेका छन् । यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसलहरू हटाउने, सवारी साधन र पार्किङको व्यवस्था मिलाइने प्रजिअ रिजालले बताएका छन् ।

प्रकाशित मितिः   २४ कार्तिक २०७८, बुधबार ०५:०१