घरघरमै आउँदैछन् गणक
कर्णालीमा दुई हजार गणक र पाँच सय सुपरिवेक्षक
राष्ट्रिय जनगणनाका लागि तयारी पूरा भएको छ । यही कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जनगणनामा कर्णाली प्रदेशभर दुई हजारभन्दा बढी गणक र झन्डै पाँच सय सुपरिवेक्षक खटाइने भएको छ । प्रदेशभर दुई हजार दुई सय ३२ जना गणक र चार सय ८० जना सुपरिवेक्षक परिचालन हुनेछन् । राष्ट्रिय जनगणना प्रादेशिक कार्यालयका अनुसार सुर्खेतमा सबैभन्दा बढी गणक र सुपरिवेक्षक खटिने छन् । यहाँ मात्र पाँच सय १८ गणक र एक सय १६ जना सुपरिवेक्षक खटाइने तयारी छ ।
सुर्खेतको वीरेन्द्रनगरमा दुई सय तीन जना, भेरीगंगामा ५८ जना, गुर्भाकोटमा ६० जना, लेकवेशीमा ३८ जना, चिङ्गाडमा १७, सिम्तामा ३१, बराहतालमा ३३, पञ्चपुरीमा ४० र चौकुने गाउँपालिकामा २७ जना गणक खटाइने छ । त्यस्तै, संस्थागत रूपमा थप ११ जना गणक खटिने कार्यालयले जनाएको छ । ती ११ जना भने सुरक्षा निकाय र कारागारको जनगणना गर्नका लागि खटाउन लागिएको हो ।
तथ्याङ्क कार्यालय सुर्खेतका अधिकृत पोम नारायण पौडेलले सबै पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्म समन्वयका लागि विभिन्न संरचना रहेको बताए । यसपटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको तथ्याङ्क कार्यालय सुर्खेतले जनाएको छ । जो मानिस जहाँ बढी (अक्सर) बसोबास गर्छ, त्यहीँबाट उसको गणना हुनेछ ।
यसअघि पहिलो चरणको सूचीकरणमा सुर्खेत जिल्लाभर एक सय १६ जना सुपरिवेक्षक परिचालन गरिएको थियो । गत भदौ ३० देखि असोज १८ गतेसम्म सूचीकरण गरिएको हो । सुर्खेत जिल्लाभर ९९ हजारको हाराहारी परिवार संख्या पुगेको अनुमान गरिएको छ । संघीयतापछि पहिलो पटक गर्न लागिएको जनगणनालाई पूर्ण बनाउने प्रयास थालिएको प्रादेशिक कार्यालयले जनाएको छ । आमनागरिकको सामाजिक, आर्थिक र साँस्कृतिक विविधताको चित्रण गर्नको लागि प्रायः सबै पक्षका प्रश्न समेटिएका छन् ।
प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसअघि वि.सं. २०६८ मा गरिएको थियो । आगामी जनगणनापछि देशको कूल जनसंख्या तीन करोड पुग्ने आकलन गरिएको छ । २०६८ मा गरिएको जनगणनामा देशको कूल जनसंख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौ जना थियो । जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउने बताइएको छ ।
प्रकाशित मितिः २३ कार्तिक २०७८, मंगलवार ०५:००
साझा बिसौनी ।