प्रदेश ६ मा खुल्दै विकासको ढोका
आर्थिक विकास र मानवीय सूचकमा हालसम्म पछाडि देखिएको प्रदेश नम्बर ६ मा विकासको ढोका खुल्न थालेको छ । वर्षौंदेखि सडकमा नजोडिँदा यो प्रदेशको कर्णालीमा प्रायः विकास ठप्प जस्तै थियो । तर सडक खुलेपछि कर्णालीमा विकास बोकेर मोटर पुग्न थालेका छन् । सडक सञ्जालकै कारण प्रदेशका विभिन्न स्थानमा एक दर्जन बढी नयाँ सहरहरू पनि स्थापित भएका छन् ।
यो प्रदेश अन्तर्गत सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग खुलेसँगै नयाँ सहर स्थापनाको क्रम बढेको हो । सबैभन्दा बढी राजमार्ग छेउमा नै नयाँ बजार विस्तार भएका छन् । कुनैबेला सुर्खेतबाट नुन बोकेर छाक टार्ने कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म अहिले सहरमा परिणत भएको छ । कर्णालीको किनारमा रहेको नाग्म बजार दिन प्रतिदिन चम्किदैं छ । बजारमा नयाँ घर निर्माण भइरहेका छन् । जुम्ला सदरमुकाम र मुगु जाने मुख्य नाका भएकाले पनि यो बजार व्यवसायिक बन्दै गएको छ । नाग्म बजारमा कालिकोट, जुम्ला, मुगु र हुम्लाबाट मानिसहरू भित्रिएका छन् ।
अर्को महत्वपूर्ण सहरका रूपमा दैलेखको राकममा विस्तार भएको छ । कर्णाली राजमार्ग खुलेपछि राकममा बजार विस्तार भएको हो । दैलेख, कालिकोट र अछामबाट मानिसहरू यहाँ बस्ती आएका छन् । बजारमा पक्की घरहरू निर्माण भइरहेका छन् भने अन्य विकासका पूर्वाधार पनि निर्माण भइरहेका छन् । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्गले छुने भएकाले पनि राकम यो प्रदेशकै नमूना सहरका रूपमा स्थापित हुने क्रममा छ । कर्णाली राजमार्ग सञ्चालनमा आउँदा कालिकोटको नाग्म र पिलीस्थित मल्फा, जुम्लाको कुडारी र गुरुचौर तथा दैलेखको राकममा नयाँ सहर स्थापना भएका छन् । यही राजमार्गका कारण सुर्खेतको बड्डिचौरमा पनि बजार चम्किन थालेको छ ।
यस्तै छिन्चु–जाजरकोट सडक खुलेपछि सुर्खेतको छिन्चु र मेहेलकुना सहरमा रूपान्तरण भएका छन् । यही सडकका कारण सल्यान र सुर्खेतको सीमानामा पर्ने सल्लीबजार चम्किएको छ । सल्लीबजारमा सुर्खेत, जाजरकोट र सल्यानबाट मानिसहरू भित्रिएका छन् । यो प्रदेशको रुकुममा पनि नयाँ सहर जन्मिएको छ । जिल्लाको चौरजहारीमा सहर नै स्थापना भएको छ । मध्यपहाडी लोकमार्ग खुलेपछि चौरजहारीमा बजार फस्टाएको हो । यो सहरमा रूकुम, जाजरकोट, रोल्पा र सल्यानबाट समेत मानिसहरू व्यापारका लागि पुगेका छन् । दैलेखको बेस्तडा र नौमूलेमा पनि सहर स्थापना भएका छन् । सडक खुलेपछि यो क्षेत्रमा एक दर्जन भन्दा बढी नयाँ सहरहरू स्थापना भएका छन् । दिन प्रतिदिन सहर विस्तार हुन थालेपछि सेवा र सुविधा पाउने अपेक्षासहित मानिसहरू बस्ती सर्नेक्रम पनि बढेको हो ।
बजार विस्तार भएपछि ती स्थानमा जग्गाको मूल्य पनि आकाशिएको छ । अर्कोतर्फ स्थानीयको आम्दानीमासमेत वृद्धि भएको छ । नाग्म बजारमा पाँच वर्षदेखि होटल सञ्चालन गर्दै आएका जुम्लाका अर्जुन रोकायाले भने, ‘पहिला हामी नुनु बोकेर यही ठाउँमा बास बस्थ्यौं, खाली पखेरो मात्र थियो । अहिले त बजार भयो, सबै सामान पाइन्छ ।’ बजार स्थापना भएपछि आम्दानी बढेको भन्दै उनले जुम्ला र मुगु नाग्मबाटै उपभोग्य सामान जाने गरेको बताए । यस्तै राकममा घडेरी किन्नेहरूको होडबाजी नै चलेको छ । दुई वटा मुख्य राजमार्गले छुने र सरकारले पनि नमुना सहर विकास गर्ने घोषणा गरेपछि बाहिरबाट भित्रिने मानिहरूको संख्या बढ्दै गएको स्थानीय रत्नप्रसाद जैसीले बताए । सुर्खेतको छिन्चुमा पनि बजार चम्किदैं गएको छ । कर्णाली र जाजरकोट प्रवेश गर्ने मुख्य नाका भएकाले पनि यो बजारमा चहलपहल बढेको हो । पहिले वीरेन्द्रनगरमा आश्रित छिन्चु बजार अहिले यो प्रदेशकै चर्चित सहरका रूपमा स्थापीत हुँदै गएको छ । यहाँ पक्की घर र पूर्वाधार निर्माणको काम धमाधम चलेको छ ।
प्रकाशित मितिः २९ मंसिर २०७३, बुधबार १२:१८
साझा बिसौनी ।