मन्त्रालय भागबन्डामा रस्साकस्सी

सुर्खेत – नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने भएपनि गठबन्धनका दलहरुबीच अन्य मन्त्रालयको भागबन्डा भने मिलेको छैन ।

कुन दलले कति वटा मन्त्रालय लिने भन्ने विषयमा सहमति जुट्न नसक्दा आज मुख्यमन्त्रीले मात्रै शपथ ग्रहण गर्नेछन् । आजै राति साढे आठ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीका रुपमा शाहीलाई शपथ ग्रहण गराउँदैछन् ।

मन्त्रीको शपथ ग्रहण भने बुधवार मात्रै हुनेछ । आज मन्त्रालयको टुङ्गो नलाग्दा मन्त्री नियुक्त नगरिएको हो ।

मन्त्रालय बाँडफाँटका लागि गठबन्धनबीच थप छलफल गरेर टुङ्ग्याइने जनाइएको छ ।

नेपाली कांग्रेसले मुख्यमन्त्री र अन्य दुई मन्त्रालय आफूसँग राख्न खोजिरहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले चार वटा मन्त्रालय मागेको छ भने एकीकृत समाजवादीले तीन वटा मन्त्रालयमा दाबी गरेको छ । संविधानत: अधिकतम आठ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिन्छ ।

कांग्रेस निकट स्रोतका अनुसार मुख्यमन्त्री शाही माओवादीलाई तीन र एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर दुई वटा कांग्रेससँगै राख्न चाहन्छन् । यसअघि एमालेबाट फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि समाजवादीका तीन जनालाई मन्त्री बनाइएको थियो । तर आगामी सरकारमा भने दुई वटा मात्रै मन्त्रालय दिने तयारी कांग्रेसको छ ।

अर्कोतर्फ माओवादी केन्द्रले चार वटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ । माओवादी गठबन्धनभित्रको सबैभन्दा ठूलो दल हो भने प्रदेशसभाको दोस्रो ठूलो दल । चार नभएपनि तीन मन्त्रालयमा माओवादी सहमत हुनसक्ने बुझिएको छ ।

एकीकृत समाजवादीले भने तीन वटा मन्त्रालय कुनै हालतमा नछोड्ने जनाएको छ । यसले गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा रस्साकस्सी चल्ने देखिएको छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७८, मंगलवार २०:०९