मुख्यमन्त्रीमा जीवनबहादुर शाही, को बन्लान् मन्त्री ?

सुर्खेत – महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने निश्चितप्राय: छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान समेत गरिसकेका छन् । जसअनुसार शाहीले आजै सत्ता-गठबन्धन दलहरुको समर्थनमा दाबी पेश गर्नेछन् ।

संघीय सरकारका पूर्वमन्त्री समेत रहेका शाहीले बाँकी रहेको १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । शाही नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)पनि सामेल हुँदैछन् । तर मन्त्रालयको बाँडफाँट भने भइसकेको छैन ।

नेपाली कांग्रेस मुख्यमन्त्रीसहित थप दुई वटा मन्त्रालय आफूसँगै राख्न चाहन्छ ।  यसअघि सरकारको नेतृत्व गरेको माओवादीले पनि मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालय आफैसँगै राखेको थियो ।

एकीकृत समाजवादीले भने अघिल्लो सरकारमा सहभागिता हुँदाजस्तै आगामी सरकारमा पनि तीन वटा मन्त्रालय नै चाहिने जनाएको छ । केही दिनअघि बसेको समाजवादीको प्रदेश कमिटीको बैठकले तीन मन्त्रालय नछोड्ने निर्णय गरिसकेको छ ।

प्रदेशसभामा समाजवादीका तीन जना सांसद छन् । तीनै जनालाई मन्त्री बनाउने तयारी समजवादीको छ ।

आठ सदस्यीय मन्त्रीमण्डलमा कांग्रेस र एकीकृत समाजवादीले तीन/तीन मन्त्रालय लिँदा माओवादीको भागमा भने दुई वटा मात्रै पर्दछन् । तर माओवादी केन्द्र पनि सकेसम्म चार नत्र तीन वटा मन्त्रालय लिन चाहन्छ । सरकारको नेतृत्व छोडेको र गठबन्धनभित्रको पहिलो दल भएकाले पनि धेरै मन्त्रालय पाउनुपर्ने दाबी माओवादीको छ ।

माओवादीले तीन मन्त्रालयको दाबी नछोडेमा कांग्रेसले एक मन्त्रालय छोड्नुपर्ने हुनसक्दछ । यद्यपि गठबन्धनबीच थप छलफल गरेर मन्त्रालयको टुङ्गो लगाउने बताइएको छ ।

मन्त्रीमा कसको सम्भावना ?

मन्त्रालय भागवण्डा हुन बाँकी रहेपनि नयाँ सरकारमा मन्त्री बन्नेहरुको चर्चा भने सुरु भइसकेको छ ।

एकीकृत समाजवादीका लागि मन्त्री छनोट गर्न सहज छ । उसका तीन जना मात्रै सांसद छन् । तीनवटा मन्त्रालय समाजवादीको भागमा परेमा तीनैजना सांसदलाई मन्त्री बनाउनेछ ।

अर्थात् समाजवादीबाट चन्द्रबहादुर शाही, देवी ओली र पदम रोकाया मन्त्री बन्नेछन् ।

माओवादी केन्द्रबाट नयाँ सरकारमा नयाँ अनुहार पठाउने सम्भावना छ । विन्दमान विष्ट, ठम्मरबहादुर विष्ट र कृष्णा शाह मन्त्री बन्ने लाइनमा छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादीको भागमा परेमा भने गोपाल शर्मालाई निरन्तरता दिने सम्भावना पनि उत्तिकै रहेको माओवादी निकट स्रोतले जनाएको छ ।

कांग्रेसबाट मुख्यमन्त्रीमा जीवनबहादुर शाहीसहित हिमबहादुर शाही मन्त्री बन्नसक्ने बताइएको छ । अघिल्लो सरकारमा सहभागी यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठलाई नै निरन्तरता दिनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७८, मंगलवार १०:०१