स्वास्थ्य क्षेत्र सुधार्ने प्रतिबद्धता
स्वास्थ्यको प्रदेशस्तरीय समीक्षा गोष्ठी सम्पन्न भएको छ । वीरेन्द्रनगरमा तीन दिनसम्म चलेको समीक्षा कार्यक्रममा सात बुँदे प्रतिबद्धता जारी गरिएको छ । खोप घोषणा, दक्ष स्वास्थ्यकर्मीबाट संस्थागत सुत्केरी सेवा र पोषणयुक्त प्रदेश बनाउने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, आधुनिक परिवार नियोजनका साधनको प्रयोग, रोग नियन्त्रण तथा स्वास्थ्य प्रवद्र्धन, उपचारात्मक सेवा र सुशासन अभिवृद्धिलगायतका प्रतिबद्धता स्वास्थ्य निकायका प्रमुखहरूले गरेका हुन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा गुणस्तरीय तथा दिगो स्वास्थ्य सेवाका बारेमा छलफल भएको हो । गोष्ठीमा प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालन भइरहेका गतिविधिहरू जिल्लास्थित स्वास्थ्य निकायका प्रमुखले जानकारी गराएका थिए ।
नवजात शिशु, बालबालिका तथा मातृ मृत्युदरलाई वाञ्छित तहसम्म घटाउनु पर्ने, बढ्दै गएको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्ने विषयमा छलफल केन्द्रित भएको गोष्ठीमा सहभागी एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार सम्भावित जनस्वास्थ्यसम्बन्धी आपतकालीन अवस्था र विपद्को समयमा स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने विषयमा पनि छलफल गरिएको थियो । विपन्न तथा सीमान्तकृत समुदायलाई आधारभूत र तोकिए बमोजिमका गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्वास्थ्य निकायका प्रमुखहरूले बताएका हुन् । भरपर्दो र सर्वसुलभ सेवा प्रवाह गर्न जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको कमी रहेको समेत गोष्ठीमा औंल्याइएको थियो । निर्देशनालयका अनुसार प्रदेशका १० वटै जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रमुख एवम् प्रतिनिधि समीक्षा कार्यक्रममा सहभागी थिए ।
प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार ०५:००
साझा बिसौनी ।