चिसो बढ्यो
जाडो मौसम सुरू भएसँगै देशभर चिसो बढेको छ । औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको हो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महशुस हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागले अब चिसो निरन्तर बढ्दै जाने बताएको छ । मौसमविद् शान्ती कँडेलले नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरू भएको बताइन् । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।
अहिले पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकीमा मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार सबैभन्दा कम जुम्लाको तापक्रम छ । त्यहाँ न्यूनतम् तापक्रम दुई दशमलव शून्य डिग्रीमा झरेको हो ।
प्रकाशित मितिः १४ कार्तिक २०७८, आईतवार ०५:०२
साझा बिसौनी ।