अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने

पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यही कार्तिक १५ देखि १७ गतेसम्म वीरेन्द्रनगरमा प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । प्रतियोगितामा जिल्लाका नौ वटै पालिकाका खेलाडीको सहभागिता रहने समितिले शुक्रवार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई यसपछि हुने मुख्यमन्त्री कपमा सहभागी गराइने छ ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि समितिले खेलकुदका कुनै पनि क्रियाकलाप सञ्चालन गर्न सकेको थिएन । यस्तो अवस्थामा प्रतिभा भएका खेलाडीको मनोबल उच्च राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताए । कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताका लागि एक लाख ५० हजार रूपैयाँ छुट्याएको छ । पालिकास्तरबाट आउने खेलाडीको पोसाक, खेल साम्रगी र खाना–बस्नको खर्च भने सोही पालिकाले बेहोर्ने छन् ।

मुख्यमन्त्री कपका लागि पालिकाबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी छनोट हुने समितिले जनाएको छ । जिल्लास्तरमा हुन लागेको प्रतियोगिता पुरुष भलिबल मात्र भए पनि मुख्यमन्त्री कपमा लागि महिला खेलाडी पनि छनोट हुने छन् । मुख्यमन्त्री कपको समय तालिका भने सार्वजनिक गरिएको छैन ।

यसैबीच, वीरेन्द्रनगरमा जारी ‘काँक्रेविहार गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो दिन शुक्रवारको खेलमा चिङ्गाड गाउँपालिकाले ३–१ गोलले चौकुनेलाई हरायो छ । खेलको दोस्रो हाफमा चिङ्गाडले दुई गोल गरेको हो । चिङ्गाड गाउँपालिकाका खेलाडी विक्रम वलीले दोस्रो हाफको २९औं मिनेटमा गोल गरे । उक्त टिमकै हेमन्त गुरुङले ३२ मिनेटका दोस्रो गोल गरेका थिए । दोस्रो हाफको पाँच मिनेटमा महेन्द्र बटलाले एक गोल गरेसँगै चौकुनेलाई चिङ्गाडले ३–१ गोलले हराएको हो । दोस्रो हाफको सात मिनेटमा चौकुने गाउँपालिका सुशिल विष्टले एक गोल गरेका थिए ।

प्रकाशित मितिः   १३ कार्तिक २०७८, शनिबार ०८:५०