परिवार नियोजन सेवा लिने न्यून

लक्षित वर्गमध्ये सुर्खेतमा सरकारी स्वास्थ्य संस्थाबाट गर्भ निरोधक सेवा लिनेको संख्या झन्डै १८ प्रतिशत मात्र छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा सरकारी स्वास्थ्य संस्थामार्फत सुर्खेत जिल्लाभर परिवार नियोजनका साधन प्रयोगकर्ता ८९ हजार ३४ जनालाई सेवा दिने लक्ष्य राखिएको थियो । जसमा १६ हजार एक सय ७७ जनाले मात्र सेवा लिए । लक्षित जनसंख्यामध्ये १८ प्रतिशतले मात्र सेवा लिएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार उक्त वर्ष सेवा लिनेमध्ये अधिकांश नयाँ प्रयोगकर्ता हुन् ।

प्रजनन् उमेरका विवाहित महिलाले डिपो, पिल्स, ईम्प्लान्ट, आईयूसीडी र बन्ध्याकरण जस्ता सेवा जिल्लास्थित सरकारी स्वास्थ्य संस्थाहरूबाट लिएका हुन् । त्यस्तै, पुरुषहरूले कण्डम र अस्थायी तथा स्थायी बन्ध्याकरण सेवा लिँदै आएका छन् । परिवार नियोजनका धेरैजसो प्रयोगकर्ताले निजी अस्पतालहरूबाट सेवा लिने गरेको पाइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका पब्लिक हेल्थ नर्स संगिता खड्काले कर्णालीका १० वटै जिल्लामा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या थोरै रहेको जनाइन् । उनले सुर्खेतमा पनि लक्षित समूहमध्ये न्यून संख्याले मात्र सेवा लिइरहेको बताइन् । निजी क्लिनिकहरूबाट सेवा लिनेहरूको यकिन तथ्याङ्क नभए पनि ठूलो संख्याले सेवा लिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । यसैगरी, परिवार नियोजन संघले सुर्खेत र दैलेखमा सेवा दिँदै आएका छन् ।

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुर्खेतमा आर्थिक वर्ष २०७७/०७८ मा तीन हजार नौ सय ९७ महिलामध्ये २० वर्ष मुनिका पाँच सय ४२ (१४ प्रतिशत) र २० वर्षमाथिका तीन हजार तीन सय ९७ (८६ प्रतिशत) नयाँ पिल्स प्रयोगकर्ता थपिएका थिए । पालिका अनुसार सबैभन्दा बढी नयाँ प्रयोगकर्ता वीरेन्द्रनगरमा २१ प्रतिशतले सेवा लिएका हुन् । उक्त वर्ष नयाँ प्रयोगकर्ता सबैभन्दा कम चिङ्गाड गाउँपालिकामा थिए । त्यहाँ एक सय ४८ जना पिल्सका नयाँ प्रयोगकर्ता थपिएका हुन् ।

त्यस्तै, जिल्लामा ईम्प्लान्टका नयाँ प्रयोगकर्ता महिलाको संख्या एक हजार नौ सय ४२ रहेको छ । त्यसमा पनि सबैभन्दा बढी वीरेन्द्रनगरका हुन् । यहाँ गएको वर्ष आठ सय २८ नयाँ प्रयोगकर्ताले सो सेवा लिएका छन् । सबैभन्दा कम सिम्ता गाउँपालिकामा ५६ जना नयाँ प्रयोगकर्ता थपिए । त्यस्तै, गत आर्थिक वर्षमा सुर्खेतमा ६ हजार आठ सय २६ जना डिपो प्रयोगकर्ता थपिएका छन् । आईयूसिडी नयाँ प्रयोगकर्ता संख्या भने जिल्लाभर निकै न्यून छ । आईयूसिडी सेवा एक सय ७७ जनाले मात्र लिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार परिवार नियोजन र यसका साधनबारे प्रचार–प्रसार धेरै भए पनि प्रयोगकर्ताको संख्या भने थोरै छ । कर्णाली प्रदेशमा यी साधनको प्रयोग झनै न्यून पाइएको हो । परिवार नियोजन कार्यक्रमलाई जनसंख्या नियन्त्रण गर्ने उद्देश्यले सुरु गरिएको हो । यसलाई आमा, बच्चा र नवजात शिशुको स्वास्थ्य सुधार, लैंङ्गिक समानता, महिलाको शिक्षा, वृत्ति–विकास अवस्थामा सहयोग पुग्ने कार्यक्रमको रूपमा पनि बुझ्ने गरिन्छ । परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग अपेक्षाकृत रूपमा बढ्न नसकेको जनस्वास्थ्यका जानकारहरू बताउँछन् ।

स्वास्थ्य सर्वेक्षण– सन् २०१६ अनुसार नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको तथ्याङ्क छ । उक्त संख्यामा पछिल्लो समय भने केही प्रतिशतले वृद्धि भएको छ । सबै सरकारी स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा अहिले पनि उपलब्ध छैन ।

प्रकाशित मितिः   १३ कार्तिक २०७८, शनिबार ०८:५३