आजका प्रमुख सात समाचार

  • नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवारदेखि आन्दोलन थाल्ने भएको छ। बारको शुक्रवार बसेको बैठकले आइतवारदेखि चरणवद्ध आन्दोलन थाल्ने निर्णय गरेको हो । बारले प्रधानन्यायाधीश जबरालाई ५ दिन भित्र राजीनामा दिन अल्टिमेटम समेत दिएको छ।

 

  • प्रतिनिधिसभा र राष्ट्रियसभाका चालु अधिवेशन शुक्रवार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रवार राति १२ बजेदेखि संसदका दुवै सदनको अधिवेशन अन्य भएको घोषणा गरेकी हुन् ।

 

  • शुक्रवार देशभर ५४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५६९ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

 

  • निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघ ७ वा १० गते गराउन प्रस्ताव गरेको छ । राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प्रस्ताव गरिएको हो ।

 

  • सवारी लाइसेन्सको अनलाइन आवेदन अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत सोमवारदेखि नयाँ आवेदन खुलाएको थियो । तर प्राविधिक समस्या देखाउँदै बिहीवार साँझदेखि बन्द भएको अनलाइन आवेदन प्रणाली कहिलेदेखि खुल्छ भन्ने टुङ्गो नभएको विभागका प्रवक्ता लोकनाथ भुसाल जानकारी दिए ।

 

  • प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने त्यसतर्फ प्रस्थान गरेका छन् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी  शुक्रबार प्रस्थान गरेका हुन् ।

 

  • आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ ।
प्रकाशित मितिः   १२ कार्तिक २०७८, शुक्रबार २०:४४