मालपोतबाट पारित हुने लिखतको शुल्क निर्धारण

लिखतको रेट निर्धारण नहुँदा भू–सेवा केन्द्रहरूले सेवाग्राहीबाट जथाभाबी शुल्क लिने गरेका थिए ।

सुर्खेत – मालपोत कार्यालय सुर्खेतबाट पारित हुने लिखत तयार गरेवापत भू–सेवा केन्द्रहरूले लिने शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत, लेखापढी कानुन व्यवसायी एसोसिएसनका प्रतिनिधि र भू–सेवा केन्द्र सञ्चालकहरूको बैठकले शुल्क तोकेको हो ।

मालपोतबाट पारित हुने लिखतहरू तयार गर्दा भू–सेवा केन्द्रहरूले अब सेवाग्राहीबाट कामको प्रकृति अनुसार निर्धारित शुल्क मात्र लिन पाउने छन् । मालपोत कार्यालयका अनुसार अंशवण्डाको लिखत गर्दा सेवाग्राहीले केन्द्रलाई दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ । तीन जनाभन्दा बढी अंशियारको हकमा भने प्रति अंशियार थप दुई सय रुपैयाँ लिन पाइने छ ।

त्यस्तै, अंश बुझेको भर्पाइ तयार पारेको एक हजार पाँच सय रुपैयाँ तोकिएको छ । यसमा पनि तीन जनाभन्दा बढी अंशियारको हकमा प्रति अंशियार थप दुई सय शुल्क भू–सेवा केन्द्रहरूले लिने छन् । बकस–पत्र, छोड–पत्र, दर्ताफारी, दान–पत्र, संङ्गोल नामा, राजीनामा, नामसारी र सट्टापट्टाको लिखितको एक हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको हो । रोक्का–फुकुवा अन्तर्गत पत्रका आधारमा ठाडो रोक्काको लिखत बनाएको पाँच सय रुपैयाँ शुल्क लाग्ने छ ।

यसैगरी, दृष्टिबन्धकी (लिखत पारित) एक हजार र त्यसको प्रिन्ट गर्नुपरेमा थप तीन सय रुपैयाँ शुल्क भू–केन्द्रहरूले लिने छन् । साथै, व्यतिगत दृष्टिबन्धकीको एक हजार पाँच सय लाग्ने छ । दाखिला खारेज अन्तर्गत अदालतको फैसला, मिला–पत्र तथा लिलामको लिखत बनाएको एक हजार रुपैयाँ तोकिएको छ । कित्ता एकीकरण, हाल साविक र श्रेस्ता अद्यावधिक, लगतकट्टा, संशोधन, प्रतिलिपी प्रक्रियाको लिखत तयार गरे वापत प्रत्येक सेवाको पाँच सय रुपैयाँ शुल्क निर्धारण भएको छ । अन्य साधारण निवेदनको तीन सय शुल्क तोकिएको छ ।

नयाँ निर्धारित शुल्क यहीँ कार्तिक (१४ आइतवार)देखि लागू हुने मालपोत कार्यालयका प्रमुख जनकबहादुर हमालले जानकारी दिए । उनका अनुसार हाल लिइरहेको भन्दा नयाँ निर्धारण गरिएको शुल्क झन्डै ५० प्रतिशतले कम हो । ‘लिखतको रेट निर्धारण नभएकाले जथाभाबी शुल्क लिने गरिएको थियो,’ हमालले भने, ‘अब सेवाग्राही ठगिने समस्याको अन्त्य हुुनेछ ।’ सुर्खेतमा अनुमति पाएका एक सय भू–सेवा केन्द्रमध्ये अहिले करिब ८० वटाले काम गरिरहेका छन् ।

 

प्रकाशित मितिः   १२ कार्तिक २०७८, शुक्रबार १६:४२