कांग्रेसलाई मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता
काठमाडौं – आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्न नसके नेपाली कांग्रेस तीन वटा निर्वाचनमा भाग लिनबाट वञ्चित हुनेछ । केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन अनि स्थानीय तहको निर्वाचनमा भाग लिन मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता भएको हो ।
यसैलाई मध्यनजर गरी कांग्रेसले महाधिवेशन फेरि नयाँ कार्यतालिका ल्याएको छ । कांग्रेसले मंसिर ९–१३ को महाधिवेशन कार्यकालिका मंसिर २४–२६ का लागि सारेको छ ।
आसन्न तीन वटा निर्वाचनमा सहभागी हुन कांग्रेसलाई मंसिरभित्र महाधिवेशन गर्नुपर्ने बाध्यता पनि छ । किनभने संविधानको धारा २ सय ७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि निर्वाचन आयोगमा दल दर्ताको गर्नुपर्ने हुन्छ ।
अहिले निर्वाचन आयोगमा ९६ वटा राजनीतिक दल दर्ता छन् । निर्वाचन आयोगमा दर्ता भएका सबै दलले निर्वाचनमा भाग लिने ग्यारेन्टी नभएकाले निर्वाचनअघि दल दर्ताको सूचना निकाल्ने गरिएको निर्वाचन आयोगका प्रमुख आयुक्त निदेश थपलियाले बताए ।
प्रमुख आयुक्त थपलियाका अनुसार संविधानको धारा २६९ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम दल दर्ता गर्न भनिएको छ ।
‘निर्वाचनका लागि दल दर्ता गर्दा संघीय कानुनमा उल्लेख भएका कुरा, आयोगले तोकेको मापदण्डका अतिरिक्त संविधानमा उल्लेख भएका तीन वटा शर्त पूरा गर्नुपर्छ,’ उनले भने, ‘पार्टीको संशोधित विधान, लेखापरीक्षणको प्रतिवेदन र संविधानको धारा २६९ को उपधारा ४ को प्रक्रिया पूरा गर्नुपर्छ ।’
प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचनका लागि दल दर्ता गर्न संविधानको धारा २६९ को उपधारा ४ ले साढे पाँच वर्षभित्र अधिवेशन भएको हुनुपर्छ भन्नेछ ।
प्रकाशित मितिः १२ कार्तिक २०७८, शुक्रबार १४:१०
साझा बिसौनी ।