अमेरिकाबाट आइपुग्यो खोप
काठमाडौं– अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। अमेरिकाले अनुदानस्वरुप दिएको एक लाख ६ सय २० डोज खोप आज बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेको हो।
यो खोप १२ वर्षमाथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।
पहिलो पटक नेपाल भित्रिएको यो खोप अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको हो। माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने यो खोपका लागि आपूर्ति शाखामा ४ वटा वटा फ्रिज ल्याएर तयारी अवस्थामा राखिएको छ।
१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभीलगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पहिलो प्राथमिकता राख्दै लगाइने छ। ज्येष्ठ नागरिक पनि खोपको प्राथमिकतामा छन् ।
प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार ०९:५९
साझा बिसौनी ।