सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुलाउने भएको छ । गत बैसाख १६ गतेदेखि रोकिएको लाइसेन्सको नयाँ आवेदन आगामी बुधवारदेखि खोल्ने निर्णय भएको विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए ।
कोरोना महामारीका कारणा गत बैसाखयता लाइसेन्सको नयाँ आवेदन खुलेको छैन ।
देशभरबाट दैनिक करीब पाँच हजार आवेदन लिने गरी नयाँ आवेदन खुला गरिएको जानकारी प्रवक्ता भुषालले दिए । विभागले लिखित र ट्रायल दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेर ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ जारी गरेको छ। नयाँ आवेदनकर्ताको परीक्षा सोही मोडालिटीमा लिइने उनले बताए ।
विभागले यसअघि एउटा मात्रै गल्ती गर्ने चालकलाई लाइसेन्सका लागि अयोग्य ठहर गर्ने गरेको थियो । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षाका लागि पहिले नै पाँच सय प्रश्न विभागको वेबसाइटमार्फत सार्वजनिक गरिएका छन्। सोही अनुसार ट्रायलमा अब ७० अंक मात्रै प्राप्त गरेपनि लाइसेन्स दिने तयारी विभागको छ।
विभागले हाल एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिइरहेको छ। त्यसरी लाइसेन्स प्राप्त गर्ने चालकले एक वर्षमा पाँचओटाभन्दा कम ट्राफिक नियम उल्लंघन गरेमा मात्रै पूर्णकालीन लाइसेन्स दिने व्यवस्था विभागले लागू गरेको छ।
गत वर्ष फागुनदेखि नयाँ स्मार्ट लाइसेन्स भने विभागले छाप्न सकेको छैन । कार्ड अभावपछि अघिल्लो वर्ष मंसिरपछि परीक्षा दिएका चालकले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । विभागले मलेसियन कम्पनी आईरिससँग ९ करोड ६१ लाख रुपैयाँमा १५ लाख खालि कार्ड खरीदको सम्झौता गरेकोमा तिहारपछिसम्म नयाँ कार्ड आउने विभागका प्रवक्ता भुषालले बताए ।
प्रकाशित मितिः ७ कार्तिक २०७८, आईतवार १३:१८
साझा बिसौनी ।