सुदूरपश्चिम सरकार हेरफेरको चर्चा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने चर्चा सुरु भएको छ। सत्ता गठबन्धनभित्रैबाट नेतृत्व परिवर्तनको चर्चा चलेको हो

प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ। माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार हेरफेरका लागि नेपाली कांग्रेसले गृहकार्य गरिरहेको छ। सत्तारुढ गठबन्धनको कांग्रेस सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले आफूहरुसँग कुनै सरसल्लाह नगरी एकलौटी रुपमा सरकार चलाएको भन्दै असन्तुष्ट बनेको छ।

माओवादी केन्द्रले गठबन्धनको दललाई वेवास्ता गर्दै सरकार सञ्चालन गरिरहेको भन्दै कांग्रेसका नेताहरु सरकार परिवर्तनको कसरतमा जुटेका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले जनअपेक्षा अनुसार काम नगरी एकलौटी सरकार चलाएकाले सरकार फेरिने कांग्रेस नेताहरुको दाबी छ।

सत्तारुढ गठबन्धनको भागबण्डामा सुदूरपश्चिम प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्नेमा कांग्रेस नेताको जोड छ। सत्तारुढ गठबन्धनमा बागमती प्रदेशमा कांग्रेस र समाजवादीले आलोपालो र १ नम्बर प्रदेशमा समाजवादीले सरकार चलाउने सहमति बनेको छ।

माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकार फेरेर कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका सांसद आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन गर्ने दाउमा छन्। कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले आफ्नो नेतृत्वमा सरकार बनाउन केन्द्रसँग लबिङ गरिरहेका छन्।

सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेर रावलले दबाब दिइरहेका छन्।

शुक्रबार बाढीपहिरोग्रस्त क्षेत्रको अनुगमनमा आएका प्रधानमन्त्री देउवासँग भेट गर्दै नेताहरुले प्रदेश सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएकाले फेर्नु पार्ने माग राखेका थिए।

प्रदेश सरकारको काम सन्तोषजनक नभएको भनेर धेरै गुनासो आएकाले गठबन्धनमा छलफल, सल्लाह भइरहेको र सरकार फेरबदल हुने-नहुने तथा कसरी अगाडि बढ्ने विषयमा केही दिनमा निर्णय गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएको भेटघाटमा सहभागी संसदीय दलका नेता रणबहादुर रावलले सुनाए।

यस्तै, केही समय अगाडि रावल नेतृत्वको सुदूरपश्चिमका कांग्रेस सांसदको समूहले संघीय राजधानी काठमाडौँमा प्रधानमन्त्री देउवालाई भेटेर माओवादीले एकलौटी सरकार सञ्चालन गरेकाले परिवर्तन गर्न आग्रह गरेका थिए।

उता गठबन्धनको बलमा कांग्रेसले सत्ता हत्याउन खोजेको भन्दै नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले कांग्रेसलाई नेतृत्वमा आउनबाट रोक्ने रणनीति बोकेको छ।

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरेपछि एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सारिएको छ। प्रदेश सभामा समाजवादी ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउन सोडारीले केन्द्रसँग लबिङ गरिरहेका छन्।

अहिले सुदूरपश्चिम प्रदेशमा समाजवादीको साझेदारीमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। सत्तागठबन्धनको कांग्रेस सरकार बाहिर छ।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन्। यस्तै, प्रतिपक्षी एमालेका सभामुख सहित ११ सांसद तथा जसपा र लोकतान्त्रिक समाजवादी (लोसपा) का एक-एक सांसद छन्।

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार १८:५८