विपद् प्रभावितलाई राहत

मृतकका परिवारलाई दुई लाख, घाइतेको उपचार

सुर्खेत- बाढी र पहिरोलगायतका विपदबाट प्रभावित नागरिकलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ ।  शुक्रवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकले बेमौसमी वर्षाले निम्त्याएको विपद्पीडितलाई राहत दिने निर्णय गरेको हो ।

बाढी-पहिरो लगायतमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई तत्कालै दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

यस्तै घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता नेपालीले जानकारी दिइन् ।

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी-पहिरोबाट सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मन्त्री नेपालीका अनुसार अन्नबालीमा भएको क्षति मुल्याङ्कन गरेर क्षतिपूर्ती उपलब्ध गराउने निर्णय पनि परिषद्ले गरेको छ । क्षतिको यकिन विवरण संकलन गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्ने जनाइएको छ ।

त्यस्तै, विपद्का कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माण तथा पुनर्स्थापना गर्ने प्रवक्ता नेपालीले बताइन्।

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार १४:४२