सरकारको नेतृत्वमा आलोपालो

काठमाडौं- बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले आठ-आठ महीना सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादी र कांग्रेसले बाँकी अवधिमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो। एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे र कांग्रेसको तर्फबाट इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन्।

प्रदेश सभाको अवधि अब करीब १६ महीना बाँकी छ। यसमा शुरूआतको आठ महीना पाण्डेले र त्यसपछिको आठ महीना बानियाँले सरकारको नेतृत्व गर्ने सहमति बनेको एक नेताले बताए। उनले भने, “अब बाँकी अवधि गठबन्धनको नै सरकार हुनेछ, त्यसमा पालैपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको छ।”

कांग्रेस संसदीय दलका नेता बानियाँले पनि यसको पुष्टि गरेका छन्। “अब बाँकी अवधि गठबन्धनकै सरकार बन्छ,” बानियाँले हिमालखबरसँग भने, “मिलेरै अगाडि बढ्ने सहमति भएको छ।”

अहिले एकीकृत समाजवादीका तर्फबाट पाण्डेले सरकारको नेतृत्व गर्नेछन्।

११० सदस्यीय प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमा नेकपा (एमाले) का ४३, कांग्रेसका २२, माओवादीका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।

सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनमा ५८ सांसद छन्।

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार ११:२३