प्रधानमन्त्री विपद् प्रभावित क्षेत्रको अवलोकनमा

बाढी–पहिरोबाट भएको क्षति यकीन गरेर संघीय सरकारलाई जानकारी गराउन प्रदेशलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवा वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । केही दिनयताको निरन्तर वर्षाले पुर्‍याएको नोक्सानीको जानकारी लिन उनी कर्णाली र सुदूरपश्चिम प्रदेशको निरीक्षण भ्रमणमा आएका हुन् । मन्त्रिपरिषद्को टोलिसहित बिहीवार सुर्खेत आएका उनले कर्णालीमा वर्षाका कारण भएको क्षतिबारे प्रारम्भिक जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलिसँग भेट गरेका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुरक्षा निकायका प्रमुखहरूले कर्णालीमा बाढी–पहिरोले पु¥याएको क्षतिका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । सोही क्रममा प्रधानमन्त्रीले बाढी–पहिरोले पु¥याएको क्षतिको पूर्ण विवरण संकलन गरेर तत्कालै संघीय सरकारलाई पठाउन निर्देशन दिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले वर्षाका कारण प्रभावित भएका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बताए । उनले बुधवार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रूपैयाँ राहत दिने निर्णय भएको बताउँदै भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने उल्लेख गरे ।

‘सरकारले मृतकका परिवारलाई राहतको घोषणा गरिसकेको छ,’ उनले भने, ‘भौतिक क्षतिको मूल्याङ्कन गरेर थप राहत उपलब्ध गराइने छ ।’ बाढी–पहिरोका कारण क्षति भएका भौतिक संरचनाकोे पुननिर्माणको काम पनि तत्कालै अघि बढाइने उनले बताए । प्रधानमन्त्री देउवाले कृषकले बाली भित्र्याउने बेला आएको बाढी–पहिरोले ठूलो क्षति पु¥याएको भन्दै त्यसको मूल्याङ्कन गरेर कृषकलाई राहत दिइने आश्वासन समेत दिएका थिए । बेमौसमको वर्षाले पु¥याएको क्षतिको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवा बिहीवार नै सुर्खेतबाट सुदूरपश्चिम लागेका छन् ।

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार ०५:०१