भयावह बालविवाह

कर्णालीका सबैजसो जिल्लामा उमेर नपुगी विवाह गर्ने चलन व्याप्त छ । २० वर्ष नपुग्दै विवाह गर्ने बालबालिकाको संख्या उच्च छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले केही समय पहिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेका छन् । परिवारको सहमतिमा मागीभन्दा भागी बिहे गर्नेको संख्या अत्यधिक छ ।

बालविवाह गर्नेहरूमध्ये ९८ प्रतिशत बालबालिका आफ्नै इच्छाले भागेर बिहे गर्ने गरेको पाइन्छ । तथ्याङ्क केलाउँदा बहुसंख्यक बालविवाह बालबालिकाकै चाहना अनुसार भएका छन् । परिवारको अवरोधकाबीच भागेर विवाह गर्नेको संख्या ठूलो छ ।

बालविवाह उच्च हुनुमा चेतनाको कमी, गरिबी, सामाजिक एवम् सांस्कृतिक मान्यता र लैङ्गिक विभेद जस्ता कारणहरू रहेको बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले जनाएका छन् । बालविवाह न्यूनीकरणमा वर्षौंदेखि सरकारी तथा गैरसरकारी संस्थाहरू क्रियाशील भए पनि यसको दर घटेको छैन । न्यूनीकरण हुनुको साटो झन बढिरहेको तथ्याङ्कले देखाउँछ । बालविवाह रोक्न अभियान चलाइरहेकै ठाउँको अवस्था नसुध्रिएको स्वयम् अभियानकर्ताहरूले बताएका छन् ।

प्रदेशमै धेरै बालविवाह हुने मध्येको जिल्ला हो, सुर्खेत । यहाँ बालविवाहको अवस्था अहिले पनि भयावह छ । महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले सञ्चालन गरेको बाल हेल्प लाइनमा गत आर्थिक वर्ष २९ वटा घटना दर्ता भएका थिए । आवाजमा मात्रै महिनामा चार÷पाँच वटा बालविवाहका घटना आउने गरेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा गत आर्थिक वर्षमा सात वटा बालविवाहका उजुरी परेका थिए । उमेर नपुगी बिहे गर्न कानुनले समेत प्रतिबन्ध गरेकाले सबैजसो बालविवाहका घटना सार्वजनिक हुँदैनन् । प्रहरी र संघ–संस्थासम्म न्यून संख्यामा मात्र उजुरी पर्ने गरेका हुन् ।

त्यस्तै, दैलेखमा गएको वैशाखयता १७ वटा बालविवाहका घटना दर्ता भएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । उनका अनुसार सामाजिक सेवा केन्द्र (सोकेक) ले सञ्चालन गरेको टोल फ्रि नम्बर, बाल क्लव, महिला समूह र किशोरीहरूमार्फत बालविवाहका घटना जानकारीमा आउने गरेका छन् । ६ महिनाको अवधिमा भएका १७ वटा बालबिहेमध्ये १५ बालिका र दुई जना बालक छन् । उनीहरूले आफ्नो उमेर नगुग्दै बिहे गरेका हुन् । सानैमा बिहे गर्नेमा बालकभन्दा बालिकाहरू धेरै रहेको बाल हेल्पलाइन संयोजक श्रेष्ठ बताउँछिन् । उमेर नहुँदै विवाह गर्ने अधिकांश जोडिलाई दुुवैका अभिभावकको रोहबरमा छलफल गरी अभिभावककै जिम्मा लगाउने गरिएको छ ।

कालीकोटमा पनि बालविवाह अत्यधिक छ । त्यहाँस्थित बालअधिकार अनुुगमन अधिकृत प्रभा विकले बालविवाह न्यूनीकरणमा थुप्रै चुनौतीहरू रहेको जनाइन् । उनका अनुसार अभिभावकै राजीखुसीमा समेत यहाँ धेरै बालविवाह हुन्छ । अभिभावकलाई बालविवाहको असरको बारेमा थाहा हुुँदाहुँुदै पनि यस्ता घटनामा कमी आउन नसकेको उनी बताउँछिन् ।

कर्णालीका अन्य जिल्लामा पनि बालखैमा बिहे गर्ने चलन अधिक छ । सल्यान, जुम्ला, मुगु, जाजरकोट र रूकुम–पश्चिममा बालविवाहका धेरै घटना हुने गरेका हुन् । गएको वर्ष सल्यानमा तीन र जुुम्लामा दुई वटा उजुरी प्रहरीमा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सल्यानमा पाँच, सुुर्खेतमा एक, दैलेखमा एक र रूकुुम–पश्चिममा दुई वटा उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेतमा सात, दैलेखमा ६, सल्यानमा चार र जुुम्लामा दुई वटा बालविवाहसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले कोरोना महामारीपछि बालविवाह झन बढेको बताएका छन् । महामारीले रोजगारी गुमेपछि परिवारहरूमा गरिबी बढेको र त्यसले बालविवाह झन् बढाएको उनीहरूको तर्क छ ।

कम उमेरमा विवाह गर्नु कानुनविपरीत मात्र होइन स्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण मानिन्छ । बालविवाहले सक्षम र स्वाभिमानी बन्नमा समेत बाधा पुर्‍याउने जानकारहरू बताउँछन् । बालविवाह निरुत्साहित गर्न सरकारी निकायले नै रणनीतिक योजना बनाएर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने अभियान्ताहरूले जनाएका छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट बालविवाह रोकथाम तथा नियन्त्रणका लागि थुप्रै प्रयास भएका पनि छन् । तर, कानुनी रूपमै वर्जित भए पनि बालविवाहका घटनामा भने कमी आएको छैन ।

प्रकाशित मितिः   २३ आश्विन २०७८, शनिबार ०५:००