दुई लाख ४१ हजारले पाए पूर्ण खोप
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिन थालेको झन्डै नौ महिना भयो । यो अवधिमा प्रदेशमा लक्षित उमेर समूहमध्ये २२ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् । गएको माघबाट सञ्चालन भएको खोप अभियानमा दुई लाख ४१ हजार दुई सय ४९ जनाले पूर्ण खोप लगाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
प्रदेशमा करिब १८ लाख २४ हजार हाराहारी जनसख्या छ । त्यसमध्ये १८ वर्षमाथिका १० लाख ९४ हजार ४५ जना छन् । निर्देशनालयले अब आठ लाख ५३ हजार दुई सय ३० जनाले पूर्ण खोप लगाउन बाँकी रहेको जनाएको छ । प्रदेशभरि झन्डै ३३ प्रतिशतले मात्र पहिलो डोज खोप लगाएका छन् ।
पूर्ण खोप लगाउनेमध्ये सबैभन्दा बढी सुर्खेतका छन् । यहाँ ७७ हजार १५ जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । सल्यानमा ३३ हजार २१, रुकुम–पश्चिममा २९ हजार ५५, जुम्लामा २१ हजार ६४ र दैलेखमा ३२ हजार तीन सय ७६ जनाले पूर्ण खोप लगाएका छन् । यस्तै, अहिलेसम्म कालीकोटमा १५ हजार एक सय आठ जनाले पूर्ण खोप पाएको निर्देशनालयले जनाएको छ । जाजरकोटमा ११ हजार सात सय नौ, हुम्लामा ६ हजार आठ सय ५३, मुगुमा नौ हजार ६ सय आठ र डोल्पाका ६ हजार ६ सय ३३ जनाले खोप पाएका हुन् ।
सुर्खेतका एक लाख २२ हजार आठ सय जनाले पहिलो डोज लगाएका छन् । निर्देशनालयका अनुसार डोल्पामा १० हजार एक सय जनाले पहिलो मात्रा खोप पाएका छन् । यस्तै, मुगुका १७ हजार आठ सय, हुम्लामा १२ हजार नौ सय, जुम्लामा २६ हजार दुई सय, र कालीकोटका २० हजार आठ सय जनाले पहिलो खोप लगाएका छन् । दैलेखमा ५४ हजार दुई सय, रुकुम–पश्चिममा ३३ हजार चार सय, सल्यानमा ४३ हजार आठ सय र जाजरकोटमा १९ हजार पाँच सयले खोपको पहिलो मात्रा लगाएका छन् । हिमाली जिल्लाहरूमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने अभियान चलिरहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मितिः १८ आश्विन २०७८, सोमबार ०५:०१
साझा बिसौनी ।