दसैँ बजारले ल्याएन उत्साह

नजिकिए चाड, बढेन व्यापार

नजिकिए चाड, बढेन व्यापार

व्यवसायीलाई गत वर्षझैं यो पटकका चाडपर्व पनि उत्साहजनक रहेनन् । कोरोना महामारीका कारण लामो समय व्यवसाय बन्द गर्नुपर्दा मर्कामा परेका उनीहरू अहिले झनै निराश छन् । दसैँ–तिहारजस्ता ठूला चाडको मुखमा बजारमा चहलपहल छैन । कारोबार न्यून छ । व्यवसायीहरूले अन्य समयमा भएको व्यापार घाटालाई दसैँले राहत मिल्ने ठानेका थिए । अघिल्ला वर्षहरूमा चाडपर्वमा राम्रो कारोबार हुँदै आएकोमा कोरोना महामारीपछि व्यापार ह्वातै घटेको हो ।

विगतका वर्षहरूको तथ्याङ्क हेर्दा वर्षभरीमा हुनेमध्ये झन्डै ४० प्रतिशत कारोबार दसैँमा हुन्थ्यो । दसैँ–तिहार र तीज जस्ता पर्वमा बजारमा ग्राहकको भीड थामि नसक्नु लाग्थ्यो । यी चाडमा मीठो मसिनो खाने र नयाँ लुगा लगाउने चलन भएकाले व्यापार निकै बढ्थ्यो । यही बेला व्यवसायीलाई सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो । तर, यस पटक बजारमा त्यस्तो चहलपहल छैन । गएको तीजमा पनि राम्रो व्यापार नभएको व्यवसायीहरूले बताएका छन् ।

वीरेन्द्रनगर बजार कर्णाली प्रदेशकै ठूलो व्यापारीक क्षेत्र हो । यहाँ ठूला लगानीमा खुलेका आधुनिक व्यापारीक मलदेखि साना व्यवसायसम्म सञ्चालित छन् । बजारभरी खाद्य स्टोर, होटल, गरगहना, फेन्सी तथा रेडिमेट र इलेक्ट्रोनिक्स पसलहरू यत्रतत्र छन् । ती कुनैमा अहिले गतिलो व्यापार भएको छैन । चाडपर्वमा राजधानीकै बजारमा उल्लेख्य कारोबार नभएको हो । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको व्यापार–व्यवसाय अहिलेसम्म लयमा फर्कन नसकेको उद्योगी–व्यवसायीहरू बताउँछन् ।

सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले व्यापार घटेको गुनासो व्यवसायीहरूबाट आइरहेको बताए । ‘धेरै व्यवसायीले कारोबार राम्रो छैन भन्ने गर्नुभएको छ,’ उनले भने, ‘कोभिड प्रभावसँगै बजार विस्तारले पनि विगतजस्तो व्यापार नभएको हुन सक्छ ।’ पछिल्लो समय टोल–टोलमा सबैखाले पसल खुल्न थालेपछि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको व्यापारमा कमी आएको उनको आकलन छ । ढकाल भन्छन्, ‘गत वर्ष सुर्खेतमा व्यापार घाटा थियो । यो पटक पनि अवस्था उस्तै छ ।’

दुई वर्षदेखि वीरेन्द्रनगर–६ मा सुनचाँदी व्यवसाय गरिरहेका भक्तबहादुर सुनारले अहिले कारोबार ठप्प प्रायः रहेको जनाए । ‘एक वर्षभन्दा बढी समयदेखि कारोबार गतिलो छैन । लगानी गरेर नोक्सान बेहोर्ने व्यवसायीमध्ये एक म पनि हुँ,’ उनले भने । सेन्चुरी सुनचाँदी पसल सञ्चालक गरिरहेका उनले गहनाका सामान बिक्री हुने मुख्य समय चाडपर्व भए पनि कारोबार नभएको सुनाए । चाडपर्वमै घाटाको व्यापार गर्नुपर्दा लगानी जोखिममा परेको उनको भनाइ छ ।

पशुपति सुनचाँदी पसलका सञ्चालक नरबहादुर सुनारको समस्या पनि भक्तबहादुरकै जस्तो छ । विगतका वर्षभन्दा २५ प्रतिशतले व्यापार कम भएको उनी बताउँछन् । सुनको मूल्य हरेक दिन घटबढ भइरहने हुँदा यो व्यवसायमा बढी जोखिम रहेको उनले बताए । गरगहनाका पसल मात्र होइन फेन्सी पसलको हालत पनि उही छ । दसैँ–तिहार नजिकिए पनि व्यापार बढेको छैन । वीरेन्द्रनगर–६ स्थित गुरुङ फेन्सी पसलका सञ्चालक गोविन्द गुरुङ व्यापार नगन्य मात्रामा भइरहेको बताउँछन् । उनकाअनुसार फेन्सी सामानको मूल्य विगतका वर्षभन्दा २० प्रतिशतका दरले वृद्धि भएको छ । ग्राहकको चहलपहल नहुँदा कारोबार भने चौपट छ । ‘दसैँ र तीजमा पसलमा सामान किन्नेको लाइन लाग्थ्यो,’ गुरुङले भने, ‘यस वर्ष फाटफुटबाहेक ग्राहक आएनन् ।’ गत वर्षको तुलनामा यो वर्ष झन् व्यापार घटेको उनको अनुभव छ ।

लामो बन्दाबन्दीमा सटर बन्द गरेर भाडा तिर्नुपरेका व्यवसायीहरू अहिले थप समस्यामा परेका छन् । चाडपर्वमा पनि व्यापार नहुँदा निकै सकस भइरहेको अंकित फेन्सी पसलका सञ्चालक वीरेन्द्र केसीले बताए । ‘लकडाउनका बेला एक दिन पसल खुलेन । त्यसयता पनि पसल कुरेर मात्र बसिएको छ,’ उनले भने । चाडमा अलि बढी नै कारोबार हुने खाद्यान्नका पसलहरूमा पनि ग्राहकको खासै चहलपहल छैन । महँगोमा खरिद गरेको सामान बिक्री नभएर थन्किएको व्यवसायीहरूले बताएका छन् । यसपटक खाद्य व्यापारमा घाटा बेहोर्नु परेको थानी जनरल स्टोरका सञ्चालक गणेशप्रसाद थानीले जनाए । लकडाउनको चपेटामा परेका व्यापारीहरू पछिल्लो समय पनि कारोबारमा वृद्धि नभएपछि अप्ठ्यारोमा परेका छन् ।

प्रकाशित मितिः   १७ आश्विन २०७८, आईतवार ०५:००