५५ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा शुक्रवार ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । एक सय ५८ जनामा परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

शुक्रवार एक सय दुई जनामा आरटी–पीसीआर परीक्षण र ५६ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । पीसीआरबाट ४५ जना तथा एन्टीजेनमार्फत दश जना संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये ३८ जना सुर्खेतका, १३ जना जुम्लाका, दुई जना सल्यान र एक जना दैलेखका छन् । एक जना भने अन्य प्रदेशका हुन् ।

शुक्रवार नै १६ जना कोरोना संक्रमित बिरामी भने निको भएका छन् । ५५ जना संक्रमितलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ । दुई जनाको मृत्यु समेत भएको निर्देशनालयले जानकारी दिएको छ । हालसम्म कर्णाली प्रदेशभर तीन सय ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीन सय आठ जना उपचारका लागि आइसोलेसनमा राखिएको छ ।

यसैबीच शुक्रवार देशभर एक हजार ६६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार एक सय १३ पीसीआर परीक्षणमा आठ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको तीन हजार दुई सय ५५ परीक्षणबाट एक सय ६८ जनामा पोजिटिभ देखिएको छ । नौ सय ३८ जना भने संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या सात लाख ६६ हजार ६ सय ९६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार एक सय ४८ पुगेको छ ।

प्रकाशित मितिः   १६ आश्विन २०७८, शनिबार ०५:०५