६२ पालिकामा सकियो अधिवेशन

नेतृत्वमा पौडल पक्ष हावी, सभापतिमा एक जना मात्रै महिला

नेपाली कांग्रेसले कर्णालीका अधिकांश स्थानीय तहका कार्यसमितिमा नेतृत्व छनोट सम्पन्न गरेको छ । १४औं महाअधिवेशन अन्तर्गत कांग्रेसले गाउँ÷नगर अधिवेशनबाट प्रदेशका ७९ मध्ये ६२ पालिकाको नेतृत्व चयन गरेको हो । अधिवेशनमा पार्टीका दुई समूहबीच नेतृत्व हत्याउन प्रतिस्पर्धा भएको थियो । केही पालिकामा सर्वसम्मत कार्यसमिति बनाइए पनि धेरैमा भने निर्वाचनमार्फत नेतृत्व चयन भएका हुन् ।

पालिकाको अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्यानल नै बनाएर नेतृत्वका लागि भिडेका थिए । अधिवेशन सकिएकामध्ये धेरै स्थानमा पौडेल समूहले गाउँ÷नगरको नेतृत्व पाएको छ । कर्णालीका ३४ पालिकामा पौडेल समूहका सभापति बनेका छन् २७ स्थानमा देउवा समूले नेतृत्व लिएको छ । जाजरकोटको एक पालिकाका सभापति दुवै पक्षमा खुलेका छैनन् ।

गाउँ÷नगर अधिवेशन सकिएका पालिकामा प्रदेशभर एक जना महिला मात्र मूल नेतृत्वमा पुगेकी छन् । अधिवेशन भएका ६१ पालिकाको सभापतिमा पुरुष चयन भएका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिकामा सीता केसी गाउँ कार्यसमिति सभापति बनेकी छन् । छत्रेश्वरीमा मतदानमार्फत नेतृत्व चयन भएको थियो । केसीले पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै नेतृत्व लिएकी थिइन् । उनी सोही पालिकाकी उपाध्यक्ष समेत हुन् ।

सुर्खेत र डोल्पाका गरी १७ स्थानीय तहमा वडा अधिवेशन अझै हुन सकेको छैन । यी दुई जिल्लामा क्रियाशील सदस्यता विवादका कारण अधिवेशनमा ढिलाइ भएको हो । क्रियाशील विवाद टुङ्गिएर नामावली प्रकाशित भइसके पनि अधिवेशनको मिति भने तोकिएको छैन । कांग्रेस नेताहरूका अनुसार बाँकी रहेका पालिकाहरूमा दसैँ अगावै गाउँ÷नगरका अधिवेशन हुने छन् । कांग्रेसले कर्णालीका हिमाली जिल्लाहरूमा दसैँअघि नै जिल्ला अधिवेशन सक्ने जनाएको छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७८, बिहीबार ०५:००