दसैँको साइत सार्वजनिक

टीका लगाउने उत्तम समय बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको समय शुभ रहेको समितिले जनाएको छ । असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने बताएका छन् ।

असोज २२ गते शुक्रवार ११ः५६ बजे झन्डा फेर्ने साइत रहेको छ । पश्चिम फर्केर झन्डा फेर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । असोज २५ गते सोमवार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलवार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने बताइएको छ । त्यस्तै, फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ ।

मुलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजा गरिन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधवार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीवार महानवमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ ।

प्रकाशित मितिः   ९ आश्विन २०७८, शनिबार ०५:०३