एकीकृत समाजवादीमा पदाधिकारीको टुङ्गो

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक सकिएको छ । काठमाडौंमा सम्पन्न बैठकले पदाधिकारी चयनलगायतका विभिन्न निर्णय गरेको छ । यही असोज ५ गतेदेखि सुरू भएको बैठक बिहीवार सम्पन्न भएको हो । बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । माधवकुमार नेपाल अध्यक्ष रहेको समाजवादीले १८ सदस्यीय पदाधिकारी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी बनाएको छ ।

यस्तै, पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल छन् भने तेस्रो बरियताको नेतामा मुकुन्द न्यौपाने चयन भएका छन् । समाजवादीले सातजना उपाध्यक्ष चयन गरेको छ । एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन भएका छन् । बैठकले यी पदाधिकारीको नाम अनुमोदन गरेको हो । एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन् ।

त्यस्तै, राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश प्रसाद शाह, केशवलाल श्रेष्ठ, केदार न्यौपाने, घनेन्द्र वस्नेत र जयन्ती राई उपाध्यक्ष भएका छन् । कर्णालीले एक जना उपमहासचिव पाएको छ । सल्यानका प्रकाश ज्वाला समाजवादीको उपमहासचिव बनेका हुन । गंगालाल तुलाधार र विजय पौडेल पनि उपमहासचिवमा चयन भएका छन् ।

यसैगरी, समाजवादीले चार जना नै सचिव बनाएको छ । जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव भएका छन् । नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) विभाजन गरेर गठन भएको नयाँ पार्टी हो ।

प्रकाशित मितिः   ८ आश्विन २०७८, शुक्रबार ०५:०३