जोखिम न्यूनीकरण नीति बनाइने

कर्णालीमा विपद् जोखिम रोकथाम तथा नियन्त्रणसम्बन्धी नीति बनाइने भएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले प्रदेशको विपद् नियन्त्रण नीति बनाइने बताएकी हुन् ।

प्रदेश सरकारले निर्माण गर्ने हरेक नीति विपद्बाट हुने जोखिम नियन्त्रणमैत्री बनाइने उनको दाबी छ । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तर्गत बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास योजनामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी प्रादेशिक परामर्श कार्यक्रममा मन्त्री नेपालीले यसो बताएकी हुन् । ‘दिगो विकास लक्ष्य अनुसारको कार्य गर्न कर्णाली सरकारले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक नीति बनाउने तयारी गरेको छ,’ उनले भनिन् ।

प्रदेश योजना आयोग र आइओएमले संयुक्त रूपमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी प्रादेशिक परामर्श कार्यक्रममा मन्त्री नेपालीले कर्णालीको परिवेश अनुसार विपद्सँग जुध्न त्यसको व्यवस्थापनको पूर्वतयारीमा लाग्नुपर्ने बताइन् । ‘विपद्लाई न्यूनीकरण गर्नको लागि पूर्वतयारी नै महŒवपूर्ण कार्य हो,’ उनले भनिन्, ‘त्यसै अनुसार सूचना प्रणाली व्यवस्थित गरेर काम गरे प्रभावकारी हुन्छ ।’ विपद् आउनुको कारण पहिचान गरेर प्रतिकार्यका लागि तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले विपद्को आँखाबाट विकास निर्माणलाई हेर्नुपर्ने बताए । उनले भने, ‘सम्भाव्यताको अध्ययन गरेर गरिने विकास दिगो हुन्छ, योजनावद्ध विकासले प्रदेशको विकास सम्भव छ । यसरी काम गर्दा विपद् जोखिम न्यूनीकरण हुन्छ ।’ उक्त कार्यक्रममा प्रदेश सरकारका विभिन्न विषयगत मन्त्रालयका योजना महाशाखा प्रमुखहरूले वातावरणीय प्रभाव मूल्याङ्कनविनाको विकास विपद्को मुख्यकारण भएको औंल्याएका थिए । असोज १ गतेदेखि सुरू भएको दिगो विकास लक्ष्य कार्य सप्ताह १२ गतेसम्म विभिन्न विषयमा बहस तथा छलफल गरी सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   ८ आश्विन २०७८, शुक्रबार ०५:०१