वडा अधिवेशन अझै अन्योल

क्रियाशील सदस्य विवादले नेपाली कांग्रेसका वडा अधिवेशन प्रभावित भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत यतिबेला वडा अधिवेशनहरू गर्ने कार्यतालिका थियो । तर, कर्णालीका दुई जिल्लामा क्रियाशील सदस्य विवादले अझै अधिवेशनको टुङ्गो नलागेको हो ।

सुर्खेत र डोल्पामा वडा अधिवेशन अन्योल भएको छ । १८ भदौदेखि सुरू भएका वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा यी जिल्लामा ५ असोजमा दोस्रो चरणको मिति तोकिएको थियो । तर, मंगलवार पनि वडा अधिवेशन हुन नसकेको हो । प्रदेशका १० जिल्लामध्ये दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, हुम्ला, मुगु, जुम्ला र कालीकोटमा वडा अधिवेशन सम्पन्न भइसकेको छ । अधिवेशन हुन बाँकी दुवै जिल्लामा भने सदस्यता विवाद कायमै छ ।

अधिवेशन अझै कहिले हुने भन्नेबारे टुङ्गो नभएको ती जिल्लाका सभापतिहरूले जनाएका छन् । कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले क्रियाशील विवाद कायमै रहेको र केन्द्रले अझै क्रियाशील सदस्यता सूची सार्वजनिक नगरेको जनाए । उनका अनुसार सुर्खेतका लागि निर्वाच अधिकृत समेत तोकिएको छैन । उनी भन्छन्, ‘वडा अधिवेशनबारे अहिलेसम्म अन्योल नै छ ।’ नेताहरूका अनुसार सुर्खेतमा विशेषगरी अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएकाहरूलाई सदस्यता दिनेबारे विवाद रहेको बुझिएको छ । केन्द्रले अखण्ड नेपालबाट आएका एक सय ९९ जनालाई क्रियाशील सदस्यता दिने परिपत्र गरेपछि नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाउँदै आएको हो ।

दुई पक्षबीच विवाद चुलिएपछि वीरेन्द्रनगरका चारवटा वडाहरूको क्रियाशील सदस्यता स्थगन गरिएको छ । वीरेन्द्रनगर ३, ६, ८ र ११ नम्बर वडाका सात सय जनाको नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको हो । कांग्रेस सुर्खेतले जिल्लाभरबाट ११ हजार आठ सय ६० जना क्रियाशील सदस्यको नाम केन्द्रमा सिफारिस गरेको छ ।

प्रकाशित मितिः   ६ आश्विन २०७८, बुधबार ०५:००