सहुलियत पसलको संख्या बढाइँदै

बजार अनुगमनमा तिव्रता दिइने, दैनिक उपभोग्य पसलले अनिवार्य मूल्यसूचि राख्नुपर्ने

चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनका लागि पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक सूचना जारी गरी सहुलियत पसल खोल्न सहकारी तथा निजी क्षेत्रलाई अनुरोध गरेको हो । प्रशासनले आम उपझोक्तालाई सहयोग पुगोस् भन्ने उद्देश्यले दसैं, तिहारलगायतका पर्व लक्षित गरेर सुपथ मूल्य पसलहरू सञ्चालन गर्न भनेको छ ।

चाडपर्वमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु सस्तो र सहज रूपमा खरिद गर्नसक्ने वातावरण तयार पार्न सहकारी र निजी क्षेत्रलाई प्रशासनले अनुरोध गरेको हो । जारी सूचना अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेचबिखन गर्ने खाद्य सामग्रीको विविधिकरणका लागि सम्बन्धित कार्यालयसँग समन्वय र बिक्रीको समय विस्तार गरिने जनाइएको छ ।

सोमवार वीरेन्द्रनगरमा बसेको बिक्रेता तथा उपभोक्तासँग सम्बन्धित सरोकारवालाको बैठकमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सरकारी, गैरसकारी तथा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिने जनाएका थिए । उनले निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व आत्मसात गर्दै न्यूनतम मुनाफा लिएर पसल सञ्चालन गर्न आग्रह गरेका हुन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले खाद्यान्न, कपडा, भाडाकुडालगायतका वस्तुमा के कति सहुलियत दिन सकिन्छ भन्नेबारे संघ मातहतका वस्तुगत समितिहरूसँग छलफल गरिने बताए । चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनबाट व्यवसायकै प्रवद्र्धन हुने भएकाले संघले त्यसका लागि विशेष पहल गर्ने अध्यक्ष रावतले प्रतिबद्धता जनाए ।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमनलाई तीव्रता दिइने जनाइएको छ । दैनिक उपभोग्य पसलहरूले उपभोक्ताले प्रष्ट देख्न सक्नेगरि अनिवार्य मूल्यसूचि राख्न पनि प्रशासनले निर्देशन दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ गतेदेखि वीरेन्द्रनगरमा चाडवाडलाई मध्यनजर गरेर सहुलियत पसल खोलेको छ । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले पनि वीरेन्द्रनगरमा सोमवारदेखि सहुलियत मूल्यमा नुन उपलब्ध गराउन थालेको छ । साल्ट टे«डिङ सुर्खेतका प्रमुख पारशमणिनाथ प्रसाद चौधरीले साल्ट टे«डिङ कर्पोरेशनमै चिनी अभाव हुँदा यसवर्ष सहुलियतमा चिनी उपलब्ध गराउन नसकिएको जनाए । अघिल्ला वर्षहरूमा उक्त कार्यालयले नुन र चिनी छुट मूल्यमा बिक्री वितरण गर्दै आएको थियो ।

प्रकाशित मितिः   ६ आश्विन २०७८, बुधबार ०५:००