सहुलियत पसलले राहत

  • कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित पसल सञ्चालन
  • यसपटक बिक्रीमा राखिएन स्थानीय उत्पादन
  • खाद्य वस्तु खरिदमा सहकारीलाई पनि छुट
  • अनलाइनमार्फत अर्डर गर्न सकिने

चाडपर्व लक्षित सहुलियत पसल खुलेका छन् । दसैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । उपभोक्तालाई खाद्य वस्तुको मूल्यमा राहत दिने उद्देश्यले यस्ता पसलहरू खोलिएका हुन् । कर्णालीका सल्यानबाहेक नौ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । हरेक वर्ष चाडवाडको बेला सरकारी कम्पनीमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिँदै आएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले असोज १ देखि खाद्य सामग्रीको बिक्री थालेको छ । वीरेन्द्रनगर–६ स्थित कार्यालय हाताभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार यो वर्ष चामल र दाल मात्र बिक्री–वितरण गरिएको छ ।

कम्पनीका प्रादेशिक कार्यालयका लेखा सहायक विनोद पौडेलले यो वर्ष बिक्री केन्द्रहरूमा चामल र दालमा उपभोक्तालाई प्रति केजी पाँच रूपैयाँ छुट दिइएको जनाए । उनका अनुसार एक जना उपभोक्ताले अधिकतम एक क्वीन्टल चामल खरिद गर्न पाउने छन् । यहाँ किन्दा बजारको तुलनामा चामल प्रति क्वीन्टल पाँच सयका दरले सस्तो पर्ने पौडेलले बताए ।

कम्पनीले यो पटक तीन–तीन किसिमका चामल र दाल बिक्री गरिरहेको छ । अरुवा मोटा, अरुवा सोना मन्सुली र स्टिम जिरा मसिनो चामल हुन भने दालमा अरहर, मास र मसुरो बिक्रीका लागि राखिएको छ । कम्पनीले यसअघि अरुवा मोटा चामल प्रति क्वीन्टल चार हजार ६ सय रूपैयाँमा बिक्री गर्दै आएको थियो । चाडपर्वलाई लक्षित गरी पाँच सय रूपैयाँ छुट दिइएको हो । उक्त चामल अहिले चार हजार एक सयमा बिक्री गरिएको छ ।

त्यस्तै, अरुवा सोना मन्सुली चामल चार हजार नौ सय ७० रूपैयाँमा बिक्री हुँदै आएकोमा यसमा पनि पाँच सय रूपैयाँ छुट दिइएको छ । यसैगरी ६ हजार चार सय पर्ने स्टिम मसिनो जिरा चामल सुपथ पसलबाट पाँच हजार नौ सयमा पाइने गरेको हो । चामल २५ र ३० तथा दाल दुई केजीमा प्याकिङ गरिएको छ । प्रादेशिक कार्यालय सुर्खेतमा हाल १३ हजार क्वीन्टल चामल र ४० क्वीन्टल दाल मौज्दात रहेको छ ।

कम्पनीले गत वर्षदेखि अनलाइनमार्फत गरिएको अर्डरका आधारमा पनि डेलिभरी सेवा दिने गरेको छ । कोरोना महामारीका कारण भिडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत खाद्य सामान खरिद गर्नसक्ने व्यवस्था गरेको हो । उपभोक्ताले खाद्य वस्तु घरमै मगाउँदा पनि कम्पनीले तोकेकै मूल्यमा पाउने व्यवस्था मिलाएको छ । डेलिभरी शुल्क नलिने गरिएको हो । त्यसका लागि उपभोक्ताले भने अलि धेरै परिमाणमा अर्डर गर्नुपर्ने हुन्छ । अनलाइनबाट आएका अर्डर अनुसार घरमै सामान पु¥याउने गरिएको कार्यालयले जनाएको छ । सामान खरिद गर्न उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वेबसाइडमा अर्डर गर्न सकिन्छ ।

सहुलियत मूल्य पसलमा उपभोक्ताको आर्कषण रहेको कम्पनीको दावी छ । गत वर्ष कम्पनीले वीरेन्द्रनगरमा खोलेको बिक्री केन्द्रबाट दुई हजार नौ सय सय जना उपझोक्ताले सामान खरिद गरेका थिए । गत वर्ष कर्णालीका स्थानीय उत्पादन समेत बिक्रीका लागि राखिएको थियो । कम्पनीले यो पटक भने सिमी, मार्सी चामललगायतका खाद्य वस्तु नराखेको हो । यसपटक कर्णालीका अर्गानिक खाद्य वस्तु उपलब्ध गराउन नसकिएको प्रादेशिक कार्यालयका लेखा सहायक पौडेलले बताए । कार्यालयका अनुसार बिक्री, चलानी, अनुदान गरेर अघिल्लो वर्ष ५४ हजार क्वीन्टल चामल र ४५ क्वीन्टल कर्णालीको सिमी बिक्री वितरण भएको थियो । पहाडको उत्पादन तराईमा र त्यहाँ भएको उत्पादन पहाडमा तथा एक क्षेत्रमा उत्पादन भएको वस्तुलाई अर्को क्षेत्रमा वितरण गर्ने गरी कम्पनीले काम गरिरहेको जनाएको छ ।

कम्पनीले यसपालि पनि मार्सी चामल बिक्री गर्ने योजना बनाएको थियो । तर, दुुई सय क्वीन्टल मार्सी खरिदका लागि टेन्डर आह्वान गरे पनि कसैको ठेक्का नपरेपछि टेन्डर नै रद्द गरिएको हो । कर्णालीमा उत्पादित मार्सी भण्डारणमा समस्याका कारण पर्याप्त मात्रामा चामल उपलब्ध नहुँदा टेन्डर नै खारेज गर्नुपरेको जनाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपझोक्तालाई सिधै मात्र नभइ सहकारीमार्फत पनि ६ देखि ७ प्रतिशत छुटमा खाद्य वस्तु बिक्री गर्ने गरेको छ । कम्पनीबाट खरिद गरेर सहकारीले सोही मूल्यमा उपभोक्तालाई बिक्री वितरण गर्नुपर्ने हुन्छ ।

सुपथ मूल्य पसल सञ्चालन भएपछि उपभोक्तालाई राहत भएको छ । वीरेन्द्रनगर–२ की कल्पना भण्डारीले बजारमा उपलब्ध हुने खाद्य सामग्रीभन्दा सहुलियत पसलमा खरिद गर्दा प्रति केजी दुई–चार रूपैयाँ भए पनि सस्तो पर्ने बताइन् । ‘उपभोक्ताका लागि यस्ता पसल खुल्नु राम्रो हो’, उनले भनिन्, ‘चाडपर्वमा बजारमा महँगीले तिरिनसक्नु मूल्य हुन्छ ।’ कम्पनीको बिक्री केन्द्रमा भेटिएकी उनले सस्तोमा दाल चामल पाइने भएपछि आफू पनि खरिद गर्न आएको बताइन् । महँगीको मारमा रहेका आम उपझोक्तालाई सहुलियत पसलले राहत मिल्ने गरेको छ ।

प्रकाशित मितिः   ५ आश्विन २०७८, मंगलवार ०५:००