जनमोर्चाको जिल्ला समिति नै एमालेमा

राष्ट्रिय जनमोर्चा दैलेखको बहुमत कार्यसमितिसहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । कार्यसमितिमार्फत निर्णय नै गरेर उनीहरूले जनमोर्चा त्यागेका हुन् ।

जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य भरतबहादुर शाही, जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सह–सचिव नविन भट्टराई, सल्लाहकार संयोजक पूर्णबहादुर शाहीसहितका नेताहरूलाई आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका हुन् । जनमोर्चाको सिङ्गो जिल्ला र पालिका कमिटीसहित सयौं नेता तथा कार्यक्रताले एमाले पार्टी रोजेको बताइएको छ । स्थानीय तहसम्मका कमिटिलाई एमालेमा समायोजन गराइएको छ ।

राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) जिल्ला समिति दैलेखले गएको भदौ २९ गते सर्वसम्मत निर्णय गरी एमाले जिल्ला समिति दैलेखसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । काठमाडौंमा आयोजित पार्टी प्रवेश सभामा एमालेका प्रदेश तथा जिल्ला स्तरका नेताहरू पनि सहभागी थिए ।

प्रकाशित मितिः   ४ आश्विन २०७८, सोमबार ०५:०१