नेपाल–चीन सीमा विवादः अध्ययन सकियो, प्रतिवेदनको पर्खाइ

सीमा क्षेत्रको स्थलगत अध्ययन गरेर फर्किएको टोली

नेपाल–चीन सीमा विवादबारे अध्ययन गर्न गठित टोलीले स्थलगत अनुगमन सकेको छ । हुम्लाको लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अवस्थाबारे अध्ययन गरेर टोली फर्किएको हो ।

लिमी–लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सह–सचिव जयप्रसाद आचार्यको नेतृत्वमा टोली खटाएको थियो । सरकारी टोलीले अध्ययनको काम सकेर फिर्ता भएको हो । विवादित भनिएको नाम्खा गाउँपालिका–६ लिमिलाप्चास्थित १२ नम्बरको सीमास्तम्भको अनुगमन गरिएको छ । त्यस्तै ६, ७, ८, ९ र १० नम्बर स्तम्भको अवस्थाबारे पनि समितिले अध्ययन गरेको छ । सीमा क्षेत्रको अध्ययन सकेर टोली शुक्रवार फिर्ता भएको अध्ययन समितिका संयोजक आचार्यले बताए । उनका अनुसार ३, ४ र ११ नम्बर स्तम्भ हेलिकोप्टरबाट अध्ययन गर्ने योजना रहेपनि मौसम खराबीका कारण सम्भव भएन ।

नाम्खा गाउँपालिका–५ स्थित पाँच हजार एक सय २५ मिटरको उचाइमा रहेको चिम्ला भन्ज्याङको ३ नम्बर सीमास्तम्भ, पाँच हजार दुई सय ५० मिटर उचाइमा रहेको नुमुचे टुप्पाको ४ नम्बर सीमास्तम्भ र पाँच हजार दुई सय मिटर उचाइ टाकुलेको ११ नम्बर सीमास्तम्भ अध्ययन गर्न नसकिएको हो ।

अध्ययन समितिको टोली भदौ २७ मा सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो । समितिका संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवालले सीमास्तम्भको अध्ययन गरेका हुन् । स्थलगत अध्ययनमा समितिको टोलीसँगै स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू पनि सहभागी थिए । स्थलगत अध्ययन सकेको समितिले अब प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने जनाइएको छ ।

नाम्खा गाउँपालिकामा चीनबाट नेपाली भूमि अतिक्रमण भएको नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले दाबी गर्दै आएका छन् । शाहीले गत वर्ष सीमा अतिक्रम भएको दाबीसहित स्थलगत अध्ययन प्रतिवेदन तयार पारेका थिए ।

गएको वर्ष हुम्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो । तर तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २०७३ सालमा गरिएको अध्ययनलाई उल्लेख गर्दै ती संरचनाहरू चिनियाँ भू–भागमै बनाइएको बताएका थिए । त्यस्तै, नेपालस्थित चिनियाँ दूतावासले पनि ती संरचनाहरू आफ्नै क्षेत्रमा निर्माण भएको बताएको थियो । चिनियाँ दुतावासले नेपाल तथा चीनबीच सीमा विवाद नभएको स्पष्ट गरेको थियो ।

प्रकाशित मितिः   ३ आश्विन २०७८, आईतवार ०५:०३